काठमाडौं, भदाै ८ः वित्तीय प्रणालीमा लगानीयोग्य पुँजीको अभावका कारण तरलता समस्या कायमै रहँदा त्यसको असर सहकारी क्षेत्रमा पर्न थालेको छ । पछिल्ला दिनमा एकपछि अर्को गर्दै करिब २ दर्जन सहकारी संकटमा परेपछि समस्या उजागर भएको हो ।
विशेषगरी ठूला भनिएका र नाम चलेका सहकारीले सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसकेपछि सहकारीप्रतिको संशय बढ्दै गएको छ । सिभिल, गौतमश्री, कान्तिपुर, लालीगुराँस, देउराली, बराहलगायत सहकारी समस्या परेसँगै सर्वसाधारणको करोडौं रकम जोखिम परेको छ । बजारमा नाम चलेका सहकारीहरू धमाधम संकटमा परेको खबर आएपछि सर्वसाधारणले एकैपटक निक्षेप फिर्ता लिँदा अन्य सहकारीसमेत धर्मराउन थालेका छन् । अधिकांश सहकारीमा १० प्रतिशतभन्दा कम तरलता रहेका पनि समस्या भएको छ ।
विभिन्न सञ्चारमाध्यममा विज्ञापन बोर्डले सहकारीलाई लक्षित गर्दै ‘बचत गर्दा ध्यान दिऔं’ भन्ने सूचना जारी गर्नु तथा राष्ट्रिय सहकारी महासंघले निक्षेपकर्तालाई कुल निक्षेपको ५ प्रतिशत मात्र साप्ताहिक रूपमा निक्षेप फिर्ता गर्न सदस्य संस्थालाई निर्देशन दिएको खबरले आफूहरूलाई थप आशंकित बनाएको सर्वसाधारणले बताएका छन् ।
‘बोर्डले उक्त विज्ञापन आलोचित भएपछि अहिले संशोधन भइसकेको छ भने ५ प्रतिशत निक्षेप फिर्ता समस्याग्रस्त सहकारीलाई मात्र हो । सबैलाई होइन’ –राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले जानकारी दिए । उनका अनुसार सहकारी र निक्षेपकर्ताको सहमतिका आधारण त्यसो गर्न सकिन्छ भन्ने सल्लाह मात्र थियो, बाध्यकारी होइन ।
विभिन्न प्रकरणमा सहकारी क्षेत्र मुछिँदा सहकारीमा शंकाले लंका जलाउने अवस्था सिर्जना भएको न्युरोडस्थित एक सहकारीका अध्यक्षले बताए । उनले भने– ‘बजारबाट तत्काल ऋण उठाउन सक्ने अवस्था छैन त्यसमा यस्ता हल्लाले जोकसैलाई त्रसित बनाउँछ ।’कोभिड–१९ को असर लामो समयसम्म रहँदा अर्थतन्त्र शिथिल भयो ।
साथै रूस–युक्रेन युद्धको असर विश्व अर्थतन्त्रमा सँगै नेपालसमेत प्रभावित हुँदा पछिल्लो धक्का वित्तीय प्रणालीमा परेको सरोकारवाला बताउँछन् । बजारमा भएको ऋण लगानी समयमा फिर्ता नआउने तर निक्षेप फिर्ता गर्नुपर्ने भएपछि समस्या देखिएको कँडेलको भनाइ छ ।
‘सहकारीले सदस्यहरूबाट निक्षेप संकलन गरेको ८० प्रतिशत रकम ऋण लगानी गरेका छन् । तरलता समस्याका कारण त्यो नियमित भएको छैन । त्यसमाथि बजार हल्ला बढी हुँदा सहकारीहरूलाई दबाब परेको छ’ –कँडेलले भने ।
त्यसो त सहकारी समस्यामा नै नरहेको भने होइन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाल अहिले करिब एक हजार सहकारी समस्यामा रहेको बताए । उनका अनुसार सहकारी मूल्य मान्यता र सिद्धान्तभन्दा बाहिर गएर चल्ने सहकारीहरू समस्यामा छन् । पछिल्लो समय सहकारीमा समस्या देखिनुमा विभिन्न कारण रहेको एक सहकारी सञ्चालकले नेपाल समाचारपत्रलाई बताए । नेपाल समाचारपत्रबाट