सहकारीको रकम हिनामिना गरेको आरोपमा काठमाडौंको बुढानिलकण्ठबाट ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2023 Jun 02 | 04:50 pm 1501

काठमाडौं, जेठ १९ ।  सहकारीको रकम हिनामिना गरेकाे आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने ६ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका–७ का ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

उनले उक्त संस्थाका बचतकर्ताबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप सङ्कलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए।

‘उनीहरुले सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाइ बचतकर्ताको फिर्ता गर्नुपर्ने रकम तोकिएको मितिभित्र भुक्तानी नगरेको उजुरीका आधारमा पक्राउ गरिएको हो’, ब्युरोका प्रवक्ता थापाले भने। पक्राउ परेका सबैविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.