ससुरालिबाट घर फर्कन एम्बुलेन्सको प्रयोग

| 2020 Mar 26 | 03:37 pm 4238

झापा, चैत १३: मुलुक लकडाउनमा रहेको बेला एम्बुलेन्सको दुरुपयोग गर्दै चालकले यात्रु बोक्न थालेको पाइएको छ।

यात्रुलाई नक्कली बिरामी बनाएर बोकेको एउटा एम्बुलेन्स झापा प्रहरीले बिहीबार नियन्त्रणमा लिएपछि यस्तो घटना खुल्न गएको हो।

को २ च १२६६ नम्बरको एम्बुलेन्सले भद्रपुरबाट विराटनगरतर्फ जाँदै गरेका यात्रुलाई नक्कली बिरामी बनाएर लगिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेले पूर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

यसरी एम्बुलेन्सको दुरूपयोग गरेको अवस्थामा पत्रफाउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उक्त एम्बुलेन्स विराटनगरस्थित परिवर्तन समाज कल्याण ट्रस्टको रहेको र चालक कटहरी बस्‍ने अजय सरदारले विराटनगरबाट बिरामी बोकेर भद्रपुर गएका थिए ।

भद्रपुरबाट फर्किने क्रममा चालक सरदारले पाँच जना यात्रु हालेर विराटनगर लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

एम्बुलेन्समा जाने एकै परिवारका सदस्य हुन्। उनीहरू ससुरालीबाट घर फर्किँदै थिए। तिनीहरूले ९ हजार भाडा तिरेर एम्बुलेन्समा विराटनगर गइरहेका थिए।

भद्रपुरदेखि विराटनगर जाने एम्बुलेन्सको भाडा दर ४३ सय रहेको छ। यता चालक सरदारसहित एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा आवश्यक कारबाहीका लागि राखिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.