सशस्‍त्रको गाडी प्रयोग गरी भएको काठ तस्करीमा प्रहरी पनि संलग्‍न, छानबिन गर्न समिति गठन

| 2018 Jun 07 | 12:28 pm 3049

धनकुटा, जेठ २४: सशस्त्रको मिलेमतोमा काठ तस्करी भएको घटनाको छानविन गर्न छानबिन समिति गठन गरिएको छ । सशस्त्र प्रहरी बल पकलीस्थित बाहिनीका एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

चैनपुरस्थित सशस्त्र प्रहरी बल अरुण गुल्मको बा.१ झ १६६९ नम्बरको ट्रकमा राखेर धनकुटा हुँदै विराटनगरतर्फ लैजाँदै गरेको अवस्थामा सोमबार करिब सात लाख मुल्य पर्ने एक सय क्वूबीक फीट बढी सखुवाका काठसहित गाडी नियन्त्रणमा लिएको थियो । संखुवासभा, तेह्रथुम र धनकुटासम्म पुग्दा कयौं स्थानमा रहेका प्रहरीका चेक पोष्ट पार गर्नुले घटनामा अन्य पक्षको पनि संलग्‍नता रहेको आशंका चुलिएको छ ।

अन्य जिल्लामा निकासी प्रतिबन्धित सखुवाको काठ भेटिएपछि सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मको मुलघाटस्थित चेक पोष्टले नियन्त्रणमा लिएको थियो । संखुवासभादेखि कयौं स्थानमा सुरक्षा निकायको चेक पोष्ट पार गर्दै धनकुटासम्म पुग्दा तस्करीमा प्रयोग गरिएको सवारी साधन कसरी उम्कियो भन्ने रहस्य अझै खुल्न सकेको छैन ।

सखुवाको काठसहित आफ्नै बलको सवारी साधन सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले नियन्त्रणमा लिएका थिए । उनले नियन्त्रणमा लिएकोबारे सशस्त्रको पकलीस्थित बाहिनीलाई तत्काल जानकारी गराएपछि मध्य राति नै बाहिनीबाट डीएसपी डम्बर विष्टको नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ ।

घटनामा संलग्न ‘मुख्य व्यक्ति’ भनिएका सशस्त्र चैनपुरका डिएसपी रामप्रसाद भण्डारीले आफूले खराब नियतले उक्त कार्य नगरेको दाबी गरे । ‘मैले गलत मनशायले यस्तो कार्य गरेको होइन,’ उनले भने, ‘आफ्नो डिपार्टको काम भनेर सामान्य ठान्दा यस्तो अवस्था भयो ।’

घटनामा नेपाल प्रहरीको संलग्नता रहेकोबारे समेत आशंका उब्जिएको स्रोतको दाबी छ । यसैबीच जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले हिले प्रहरी चौकीमा दुई घन्टा तस्करीमा प्रयोग गरिएको सवारी साधन नियन्त्रणमा लिएर छोडेको बताए । उनले सशस्त्र चैनपुरका डिएसपी भण्डारीले भाइवरमा काठ ढुवानी गरिएकोबारे पत्र पठाइदिएपछि छोडेको दाबी गरे । तर प्रतिबन्धित काठ हचुवाको भरमा छोडिनुले घटना रहस्यमय बनाएको हो ।

बिहीबार गठन भएको छानविन समितिले घटनाबारे गहिराईमा पुगेर अनुसन्धान गरिने बाहिनीका डिआइजी मन्दिप श्रेष्ठले दाबी गरे । ‘शुक्रबारसम्ममा घटनाबारे सत्यतथ्य सार्वजनिक गरिने छ,’ उनले भने, ‘जिम्मेवार व्यक्तिहरु छानबिन समितिमा रहेकोले क–कस्को संलग्नता रहेको हो, भन्नेबारे सबै कुरा बाहिर आउनेमा ढुक्क छु ।’

घटनाबारे सत्यता पत्ता लगाउन अरुण गुल्ममा पुगेको संयोजक खनालले बताए । छानबिन समितिको सदस्यमा डिएसपी गमबहादुर कुँवर र निरिक्षक भोला खत्री पनि गुल्म पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.