सशस्त्र प्रहरीद्वारा गाँजासहित तीन जना पक्राउ

| 2022 Jul 13 | 08:13 pm 1521

पर्सा, असार २९ः जिल्लाको वीरगंज महानगरपालिका ३१ सलकपुरस्थित जितपुर–रङ्गपुर सडक खण्डबाट बुधबार सशस्त्र प्रहरीले करीव १४ किलाे गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ८ बस्ने ३६ बर्षिया उस्मा देवी, ४२ बर्षिया आरती देवी र भारतमा घर बताउने ४२ बर्षिया अनन्त देवी रहेकी छन् ।

मनहवाबाट जीतपुरतर्फ आउँदै गरेको ना २ ह २२१० नम्बरको अटोलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बेलवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला पारिएको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त अटो समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद गाँजा र अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

लत्ताकपडा बरामद
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १२ स्थित थरुवाई ईलाकाबाट सशस्त्र प्रहरीले करीब २ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना ३ प २७४० नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरीले त्यसवेला उल्लेखित मोरटसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।

आगलागी नियन्त्रणमा सशस्त्र प्रहरीको सकृयता
काठमाडौं महानगरपालिका २८ भृकुटी मण्डपस्थित पुरानो सिनेमा हलमा असार २९ गते भएको आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी सकृयताका साथ जुटेको छ । सो आगलागी बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण (विपद् उद्धार) सिनामंगल र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौंबाट तत्कालै सशस्त्र प्रहरीको टोली खटिएको हो ।

सशस्त्र प्रहरीसँगै विभिन्न निकाय, स्थानीय बासिन्दा दमकलको सहयोग लिएर आगो निभाउने कार्यमा सकृयताका साथ जुटेका छन् ।

काठसहित पक्राउ
ईलाम जिल्लाको सुर्योदय नगरपालिका ४ निसाने छब्बिसेस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ६० क्यूफिट धुपी सल्लाको चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दार्जिलिङ्ग सुखियापोखरी घर बताउने ३२ वर्षिय जीवन प्रधान छन् । डब्लु बी ७३ ई ००३२ नम्बरको बलेरो पिकअप गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त काठसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी छब्बिसेबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यसवेला उक्त गाडी समेत बरामद गरिएको छ ।

पक्राउ परेका प्रधानलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय ईलाममा बुझाईएको छ भने बरामद काठ तथा गाडी सव–डिभिजन वन कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित ईलाकाबाट  सशस्त्र प्रहरीले करीव १ लाख २१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कृष्णनगरमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.