सशस्त्र प्रहरीद्धारा लागुऔषधसहित २ पक्राउ तथा ड्राेन क्यामरा र विभिन्न किसिमका औषधी बरामद

| 2021 Sep 15 | 06:07 am 141

झापा, भदाै ३०ः जिल्लाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले दुई बोतल कोरेक्स तथा पाँच ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमल गाउँपालिका २ बस्ने ५८ बर्षीय खड्ग दाहाल रहेका छन् ।

मे ३ प ९८३५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दाहाललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरीगञ्जबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला पारेको हो ।

त्यसबेला उनको साथबाट एक थान मोबाईल सेट, ४ हजार ७ सय ७५ नेपाली रुपैयाँ र ७५ भारतीय रुपैयाँ समेत बरामद गरिएको छ ।  पक्राउ परेका दाहाललाई बरामद लागुऔषध, मोबाईल तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको सशस्त्र प्रहरीले करीब ६ किलाे गाजाँसहित बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका ७ बस्ने १८ बर्षीय पवन कुमार श्रीवस्तवलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज श्रीवस्तवलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाजाँ फेला परेपछी उनलाई पर्सा जिल्लाको वीरगंज उपमहानगरपालिका १६ शंकराचार्य गेट नजिकैबाट पक्राउ गरिएको हो ।

त्यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ९ किलाे गाँजा बरामद गरेको छ ।
जतुवाबाट झट्याहीतर्फ आउँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछी सो झोलाभित्र जाँच गर्दा उक्त गाँजा फेला परेको हो ।

त्यसवेला उक्त मोेटरसाईकल समेत बरामद गरिएको छ । बरामद गाँजा तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।

दुईवटा ड्रोन क्यामरा सशस्त्र प्रहरीद्धारा बरामद
रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ३० हजार रुपैयाँ बराबरको दुई वटा ड्रोन
क्यामरा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेका ब्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरहीयाबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछी उक्त झोलामा जाँच गर्दा सो क्यामरा फेला परेको हो । बरामद क्यामरा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

विभिन्न किसिमका औषधी बरामद
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीब १ लाख ७१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।

विराटनगरबाट विरगंजतर्फ जाँदै गरेको एक यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त औषधीको बिल बिजक फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.