धनकुटा , असार १ : काठ तस्करी प्रकरणमा आरोपित सशस्त्र प्रहरीका चार जनालार्इ निलम्बित गरीएको छ । सशस्त्र प्रहरी बल अरुण गुल्म संखुवासभा चैनपुरको सवारी साधनमा जेठ २१ गते राती अवैध काठ तस्करी गरिएको घटनाका मुख्य आरोपित डीएसपी रामप्रसाद भण्डारी र तीन प्रहरी जवान निलम्बन गरिएको हो ।
स्रोतका अनुसार मुख्य आरोपित डीएसपी खनालसहित सशस्त्रका जवान विनोद कट्टेल, मिलनकुमार राई र दिपेन्द्रकुमार कर्माकार निलम्बनमा परेका हुन् । अरुण गुल्मको बा१झ १६६९ नम्बरको ट्रकमा करिब सात लाख मुल्य पर्ने एक सय क्यूबिक फिट बढी सखुवाका काठ धनकुटा हुँदै विराटनगरतर्फ तस्करी गरिएको थियो ।
घटनाको अनुसन्धानका लागि सशस्त्रको पूर्व क्षेत्रीय बराह बाहिनी पकलीका प्रहरी उपरीक्षक गुणाखर खनालको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । खनाल नेतृत्वको छानबिन समितिले संगठनको नीति विपरित मर्यादा नाघेर कुनै निकायमा जानकारी समेत नगराई बदनियतपूर्ण कार्य गरेको निष्कर्ष निकालेको जनाइएको छ ।
छानबिन समितिले घटनाबारे स्थलगत वस्तुस्थिति अध्ययन गर्दै दोषी माथि विभागीय कारबाही गरिने पनि स्रोतले उल्लेख गरेको छ । अन्य जिल्लामा निकासी प्रतिबन्धित सखुवाको काठ भेटिएपछि सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मको मुलघाटस्थित चेक पोष्टले नियन्त्रणमा लिएको थियो । काठसहित आफ्नै कार्यालयको सवारी साधन सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिएको चार दिनपछि ती काठ जिल्ला वन कार्यालय धनकुटालाई बुझाइएको छ ।