सशस्त्रमा उपरीक्षक शक्तिशाली बन्दै, गण र गुल्मका नाम पनि फेरिने

रिपोर्ट नेपाल | 2018 Jun 20 | 11:43 am 3107

काठमाण्डौं, असार ६: अर्ध सैनिक प्रकृतीको सशस्त्र प्रहरी बल अब पुरै फौजी संरचनामा परिवर्तन हुने भएको छ । सशस्त्र प्रहरी बल पुनर्संरचना गर्ने गृहमन्त्रालयको प्रस्ताव सरकारले स्विकृत गरेपछि आगामी साउनबाट नयां संरचना लागु हुने भएको छ । नयां संरचनाकालागी सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा रात दिन काम भई रहेको छ ।

आगामी साउन देखि सबै गण तथा गुल्मका नामहरु परिवर्तन हुने भएका छन । अहिले परिचालन भएको स्थानमा प्रख्यात देवी देउताका नामले राखिएका गण तथा गुल्महरुको नाम परिवर्तन गरेर साउन १ गतेदेखि अंका आधारमा गणना गरिने छ । ३६ वटा गण प्रस्ताव गरिएकोमा ति गणहरुको नाम १ देखि शुरु भएर ३६ सम्म रहने छन । त्यसैगरि गुल्महरुको पनि सोहि अनुसार रहने छन ।

त्यसैगरि गणको गणपतिका रुपमा खटिने एसपीलाई पनि विशेष अधिकार दिइएको छ । गणमा खटिने ईन्सपेक्टर भन्दा मुनीका प्रहरी कर्मचारीहरुको सरुवा अधिकारदेखि ईन्सपेक्टर र डिएसपीको खटन पटन पनि आगामी साउनदेखि एसपीले गर्ने छन । अहिले जिल्ला भित्र सिमा सुरक्षा, भन्सार, औद्योगिक सुरक्षाको कमाण्ड फरक फरक ढंगले चल्दै आएकोमा अबदेखि जिल्लामा एउटै कमाण्ड चल्ने भएको छ ।

सरुवामा पनि संगठनले नयां मापदण्ड लागु गरेको छ । जस अनुसार व्यक्तिको एकल सरुवा नहुने भएको छ । नेपाली सेनाको जस्तै अब सिंगो गण नै सरुवा हुने छ । अब १ नम्वर प्रदेशमा रहेको १ नम्बर गण ७ नम्वर प्रदेशमा सरुवा हुने र ७ नम्बर प्रदेशमा रहेको ३६ नम्वर गण १ नम्वर प्रदेशमा सरुवा हुन सक्ने छ । नयां संरचनाले गणको एसपीलाई पावरफुल बनाएको छ ।

सशस्त्र प्रहरीमा बाहिनी ८ वटा, शिक्षालय ५ वटा, गण ३६ वटा, गुल्म ७७ वटा हुने भएका छन्। हाल सशस्त्र प्रहरीमा ३७ हजार १ सय १९ दरबन्दी छ। यसअघि २७ गण, २१ सीमा सुरक्षा कार्यालय र ३८ गुल्म छन। सीमा सुरक्षा कार्यालय अब गणमा रूपान्तरित हुने भएका छन्। जसअनुसार गुल्ममा १ सय ६०, गणमा ६ सय २१, शिक्षालयमा १ सय ७६, बाहिनीमा ३ सय ३५ संख्या रहनेछ। त्यसका अतिरिक्त मुख्यालयमा १ हजार ५ सय, प्रशिक्षण प्रतिष्ठानमा ६ सय ४९ र स्टाफ कलेजमा ९४ जनाको दरबन्दी कायम गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.