सवारी दुर्घटनामा मृत्युदर बढ्दो

| 2023 Mar 07 | 08:13 am 1321

जनकपुरधाम, फागुन २३ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका– ९ विष्णु मन्दिरनजिक कार र पिकअप आपसमा ठोक्किएर दुर्घटना हुँदा गत मंगलबार बिहान दुईजनाको मृत्यु भएको छ। दुवैमा सवार १२ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १८ च ६६१७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको घोडा बोकेको पिकअप आपसमा ठोक्किएर दुर्घटना भएको हो। मृत्यु हुनेमा कारमा सवार रहेका सुनसरीको दुहबी नगरपालिका– ३ बस्ने ४० वर्षीय राजकुमारी चौधरी र सोही स्थानका ४५ वर्षीय हरेराम साह हलुवाई रहेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले बताए।

सोमबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारको ठक्करले नाम खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जी जे १०–बिजी–८१३३ नम्बरको भारतीय नम्बरको कारको ठक्करले घाइते भएका ती पुरुषलाई उपचारका लागि भारदह अस्पताल पु¥याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने कार र चालक बिहारको सुपौल जिल्ला भीमनगरका राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार साँझ सप्तरीको पातो–कठौना सडकमा स ४ प ६०६० नम्बरको ठक्करबाट पैदलयात्री डाकनेश्वरी–५ का ६० वर्षीय रामदेव सदा र मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका–७ का ५० वर्षीय विजयमोहन चौधरी घाइते भएका छन्। दुवैको उमाकान्त कल्पना मेमोरियल अस्पताल पातोमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सोमबार साँझ नै हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित रम्पुरा चौकमा प्र १–२–०२–प०१३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ९ वर्षीया मनीषा साह घाइते भएकी छन्। बायाँ हात, दुवै खुट्टा र दुइटा दाँत भाँच्चिएर घाइते भएकी मनीषाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

फागुन १२ मा पर्साको पोखरिया नगरपालिका–३ वसन्तपुरमा भिस्वाबाट पोखरियातर्फ जाँदै गरेको ना १५ प ५०३६ नम्बरको मोटरसाइकललाई बिआर २२ एन ३७९६ भारतीय नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा चालक भारत बिहार जिल्ला बेतिया पश्चिम चम्पारणका २२ वर्षीय कैयफली चुरिहारको मृत्यु भयो।

माघको दोस्रो साता महोत्तरीको बर्दिवास–३ स्थित पाटु मोडमा अनियन्त्रित भएर ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भयो भने २८ जना घाइते भए। सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थालु बोकेर आएको प्रदेश २–०२–००१ त् २२६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा धनुषा औरहीकी ३५ वर्षीय अमेरिकादेवी मण्डलको मृत्यु भएको थियो। ट्र्याक्टरको टेलर (ट्रली) मा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिकाका थिए।

मधेस प्रदेशका जिल्लामा भएका यी प्रतिनिधि दुघर्टना हुन्। मधेस प्रदेशको दुर्घटना ग्राफ झन् डरलाग्दो छ। आर्थिक वर्ष ०७९-०८० को फागुन १५ सम्ममा सवारी दुर्घटनामा यस प्रदेशमा सवारी दुर्घटनामा ३ सय ५० जनाले ज्यान गुमाएका छन्।

सबैभन्दा बढी मृत्युवरण गर्ने दुईचक्के सवारीसाधनका छन्। वार्षिक सवारी दुर्घटनाको तथ्यांकले मधेस प्रदेशमा दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढेको देखाएको छ। बस, ट्रक, ट्र्याक्टर टिपर, मोटरसाइलकजस्ता सवारी दुर्घटनामा परेर दिनहुँ मानिसले मृत्युवरण गर्नु परिरहेको छ।

मधेस प्रदेशको राजमार्ग ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालय पथलैयाका अनुसार आर्थिक वर्ष ०७९-८० मा भएको ३ हजार ७ सय ५७ सवारी दुर्घटनामा ३ सय ५० जनाको मृत्यु भएको छ।नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.