सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2019 Apr 29 | 03:15 pm 2165

जनकपुरधाम, वैशाख १६ : सर्लाहीमा हरिवन नगरपालिकामा एक साइकल यात्रीलाई ठक्कर दिएर भाग्दै गरेको एक मोटरसाइकल चालकको दुर्घटनामा परी ज्यान गएको छ। ठक्कर दिएर स्थानीयलाई छलेर मोटरसाइकल लिई भाग्ने खोजेपछि अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक सर्लाहीको हरिवन नगरपालिका १० सुखेपोखरी बस्ने ३८ वर्षीय राजेश श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएको छ। आइतबार राति १० बजे हरिवन नगरपालिका ११ स्थित बासाटोलमा श्रेष्ठले चलाइरहेको बा २९ प ८३१८ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा उनी गम्भीर घाइते भएका थिए।

श्रेष्ठलाई तत्काल उपचारका लागि नमूना अस्पताल हरिवन पुर्‍याए पनि उपचारको क्रममा आज मृत्यु भएको हो। अत्याधिक मदिरा सेवन गरेका श्रेष्ठले पूर्व-पश्चिम राजमार्गस्थित नवलपुरमा साइकल यात्रीलाई ठक्कर दिएको र भाग्ने क्रममा तीब्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

साइकल यात्रीलाई ठक्कर दिएपछि मोटरसाइकल लड्दा श्रेष्ठले लगाएको हेल्मेट नवलपुरमै झरेको थियो। उनी हतार हतार उठेर हेल्मेट नै नलगाई भागेको र प्रहरी चेकजाँचको डरले भित्री बाटो तीब्र गतिमा भाग्दै गर्दा दुर्घटनामा परेका हुन्। यसैबीच नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका ४ हरैयामा आइतबार मध्यरातमा स्कारपियो दुर्घटना हुँदा चालक घाइते भएका छन्।

हरिपुरबाट मलंगवातर्फ गइरहेको बीआर ३१ पिए ४३५४ नम्वरको स्कारपियो अनियन्त्रित भइ पुलको रेलिङमा ठोक्किएर चालक घाइते भएको हो। दुर्घटनामा घाइते स्कारपियो चालक मलंगवा नगरपालिका ३ का ३१ वर्षीय कृष्ण जयसवालको मलंगवामा उपचार भइरहेको छ। स्कारपियोका चालक जयसवालले पनि मदिरा सेवन गरेको पाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.