सल्यान, मंसिर २१: जिल्लाको छत्रेश्वरी गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका २ दहगाउँका एम्बुलेन्स चालक चित्रबहादुर सुनार र नवजात शिशु रहेका छन् ।
नेपालगञ्जबाट सल्यान आउँदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । घइते हुनेमा दंगिशरण गाउँपालिका ५ का तिलकराम खड्का र उनकी पत्नी मालती खड्का (शिशुका आमा र बुवा) रहेको प्रहरीले जानकारी दिए ।
घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीले बताए ।
प्रहरीका अनुसार नेपालगञ्जबाट सल्यान आउँदै गरेको छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्य चौकीको एम्बुलेन्सलाई काठमाडौं बाट महेन्द्रनगर जाँदै गरेको ना ८ ख ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको जनाइएको छ ।
छत्रेश्वरी गाउँपालिका १ का वडा सदस्य प्रकाश हमालका अनुसार शुक्रबार दमाचौरबाट एक जना घाइतेलाई लिएर एम्बुलेन्स नेपालगञ्ज पुगेको थियो । फर्किने क्रममा दाङ दंगिशरणका सुत्केरी महिला, उनका श्रीमान र बच्चालाई लिएर दाङतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले बताए ।