सर्वोच्चमा मुद्दाको चाप बढेपछि….

| 2020 Feb 25 | 08:11 am 1713

काठमाडौं, फागुन १३: सर्वोच्चमा मुद्दाको चाप बढेपछि फरक–फरक समयमा दुइटा पेसी सूची तोकेर सुनुवाइ सुरु भएको छ । देशभरका जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चमा आउने मुद्दाको चाप बढेसँगै न्यायधीशको पूर्ण बैठकले गरेको निर्णयअनुसार मुद्दा फैसलाको फर्छ्योट दर बढाउन अतिरिक्त समयमा पेसी तोक्न थालिएको हो ।

सर्वोच्च अदालतमा हाल २५ हजार बढी मुद्दा विचाराधीन छन् । मुद्दाको चाप घटाउन सर्वोच्चले अतिरिक्त समयमा थप अतिरिक्त इजलास गठन गरेको हो ।
दैनिक बढ्दै गएको मुद्दाको कार्यबोझ घटाउन सर्वोच्चले १९ माघबाट दुई समयमा पेसी कार्यतालिका राखेको हो । तर, पछिल्ला १९ दिनको तथ्यांक हेर्दा मुद्दा फैसलाको फर्छ्योट दरमा तुलनात्मक रूपमा केही बढेको देखिन्छ ।

१९ माघबाट सर्वोच्चले बिहान ९ः३० बजे एउटा पेसीको कार्यतालिकामा तोकिएको मुद्दाको सुनुवाइ हुनेछ भने दोस्रो पेसीको कार्यतालिका ११ः३० बजे नियमित पेसीमा न्यायाधीशले सुनुवाइ गर्ने गरेका छन् ।

१२ फागुनमा मात्रै ३ सय ५३ वटा पेसी तोकिएकामा ५० वटा मुद्दामा फैसला भएको तथा एउटा मुद्दामा निसु (निर्णय सुनाउने) र २९ वटा मुद्दामा आदेश भएका छन् । पछिल्लो १९ दिनको तथ्यांकमा सर्वोच्च अदालतले ७ हजार ४ सय ६९ वटा मुद्दाको पेसी तोकिएकामा १ हजार ५ सय ८० अर्थात् २१.१५ प्रतिशत मुद्दा फैसला गरेको छ ।

बिहान ९ बजेदेखि नै कार्यालय समय सुरु हुने र १० देखि साढे ११ बजेसम्म एउटा पेसी सूचीमा न्यायाधीशले काम गर्नेछन् । सर्वोच्च अदालतमा यो समयमा पूरक मुद्दा वा निवेदन हेर्ने गरिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

अतिरिक्त समयमा पेसी तोक्दा मुद्दाको फैसला फछ्र्योट बढेको उनको भनाइ छ । कुनै बेला मुद्दा फैसलामा ढिलाइ हुनुमा कतिपय समयमा अन्तरकालीन आदेश भएका मुद्दाको सुनुवाइमा धेरै समय लाग्ने गरेको उनको भनाइ छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.