सर्वोच्चद्वारा सरकारको जग्गा कित्ताकाट निर्णय कार्यान्वयन नगर्न आदेश

रिपोर्ट नेपाल | 2020 Sep 14 | 06:59 pm 2379

काठमाडाैं, भदाै २९ः सरकारले हालै फुकुवा गरेको जग्गा कित्ताकाट सम्बन्धी निर्णय सर्वोच्च अदालतद्वारा कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले हालैमात्र सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि साेमबा सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकारका पक्षलाई छलफलमा बोलाएको छ ।

वि.स. २०७४ साउन २६ मा भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । गत भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको उक्त निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो ।

सरकारको उक्त निर्णय भूमिसम्बन्धी ऐन तथा नियमावली २०७४ विपरित रहेको भन्दै आलोचना भइरहेको थियो । भूउपयोग ऐन २०७६ को दफा ८ मा एउटा प्रयोजनका लागि छुट्याएको जमिनलाई अन्य क्षेत्रमा प्रयोग गर्न नहुने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.