सिन्धुली, साउन ४: सर्वोच्च अदालतले बीपी राजमार्गमा ३२ सिटे बस र भारवहनसहित १६ टनसम्मका मालवाहक ट्रक सञ्चालनका लागि बाटो खोलि दिएको छ। अदालतको आदेशपछि रुट परमिट भएका यात्रुवाहक बसलाई दिउँसो र मालवाहक ट्रक राति चलाउन खुला गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खडका र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले ठूला गाडी चलाउन सकिने आदेश दिएको थियो । यसअघि सर्वोच्चकै न्यायाधीश सपना मल्ल प्रधानले जारी गरेको अन्तरिम आदेशमा १८ सिटसम्मको यात्रुवाहक बस र भारवहनसहित १० टनसम्मका ट्रक मात्र सञ्चालन गर्न सकिने फैसला आएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ३२ सिट क्षमताका यात्रुवाहक बस र १६ टन भारवहन क्षमताका मालवाहक सवारीसाधन चल्न दिने निर्णय गरेपछि अधिवक्ता कैलाशराज दाहालले राजमार्गको भविष्य खतरामा पर्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।
बीपी यातायात सेवा समितिका कान्छामान वलसहितले यात्रुवाहक र मालवाहक सवारीसाधन बीपी राजमार्ग चल्न नदिँदा एकातिर व्यवसायी मर्कामा परेको र अर्कोतर्फ यात्रुले सास्ती व्यहोर्नुपरेको भन्दै अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै रिट दर्ता गरेका थिए ।