वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ बिघा जमिनमा विषालु सर्प पाल्ने भएको छ। सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ।
प्रतिष्ठानले तयार गरेको गुरुयोजनामा साढे ३ अर्ब रुपैयाँको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने बताएपछि ओली नेतृत्वको सरकारले ७२ करोड रुपैयाँ दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो।
आर्थिक वर्ष २०७६/०७७ मा केन्द्रले ६ करोड रुपैयाँ बजेट पठाएको थियो। प्रदेश सरकारले उक्त रकममा ६० प्रतिशत थप गरेर पठाइदिनु पर्नेमा प्रदेशका मन्त्रीहरूबाट कमिसन माग भएपछि बजेट रोकिएको बताइएको थियो।
‘जीवित नेताका नाममा पनि यसरी प्रतिष्ठानहरू बनाउने चलन विदेशमा रहेछ,’ भन्दै उनले आफ्ना नाममा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएका हुन्। अहिले यो विषय विवादमा छ।