सरकार-सिके गठबन्धनपछि मधेस झरेका पूर्वराजा के गर्दैछन् ?

रिपोर्ट नेपाल | 2019 Mar 15 | 08:00 am 2354

सर्लाही, चैत १ – सरकार र स्वतन्त्र मधेसको माग गर्दै आएका सिके राउतबीच ११ बुँदे सहमति भएलगत्तै मधेस झरेका पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटमा व्यस्त देखिन्छन्। लामो समयपछि तराई झरेका पूर्व राजाले पछिल्लो समय राजनीतिक गतिविधिलाई नजिकबाट नियालेको र पटकपटक विभिन्‍न प्रतिक्रियाहरु दिन थालेका छन्।

तराइ भ्रमणमा निस्किएका पूर्व राजा शाहलाई सर्लाहीको सदरमुकाम मलंगवामा बिहीबार नागरिक अभिनन्दन गरिएको थियो।

सडक मार्ग भएर सर्लाही आइपुगेका पूर्व राजा शाहको स्वागतका लागि जिल्लाको विभिन्‍न स्थानबाट समर्थकहरु सदरमुकाम पुगेका थिए । नागरिकको बाक्लो उपस्थिति भएपछि सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो।

पूर्व राजा शाह सदरमुकाम मलंगवामा रहेको दुर्गा भगवती मन्दिरमा पूजाअर्चनालगत्तै नागरिकको तर्फबाट गरिने अभिनन्दनमा सहभागी हुन नजिकै एउटा पार्टी प्यालेसमा पैदल हिँडेर पगेका थिए।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको अवज्ञा गर्दै कडा सुरक्षाबीच महोत्तरीको जलेश्वरबाट दिउँसो ४ बजे मलंगवा पुगेका हुन्। उनलाई नवलपुर चौकदेखि मलंगवासम्मको विभिन्न गाउँ तथा चौकमा रहेका नागरिकले स्वागत गर्नुका साथै ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएर जयजयकार गरेका थिए।

पूर्व राजा शाहलाई भेटन सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेल, नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठ होटलमा पुगेका थिए। त्यसैगरी पूर्व राजा शाहलाई भेट्न राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको ठूलो उपस्थिति रहेको थियो ।

पूर्व राजा शाहसँग पूर्व मन्त्री सोनेलाल यादव, राप्रपा नेपालका सर्लाही अध्यक्ष प्रभाकर सिंह र राष्ट्रिय एकता परिषद्का नेता प्रेम श्रेष्ठले मात्र भेट गर्न पाएका थिए। नजिकबाट पूर्व राजालाई हेर्न चाहेका नागरिकले भेटन नपाएपछि उनीहरूले आक्रोश पनि व्यक्त गरेका थिए।

पछिल्लो राजनितिक घटनाक्रमसँगै राजाको सक्रियता बढेको छ भने जनसमर्थन पनि बढीरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.