सरकारी प्रयास फिक्का: कोरोना संक्रमण दर तीव्र

| 2020 Oct 09 | 07:49 am 2085

काठमाडाैं, असनेज २३ः पछिल्लो साता काठमाडौं उपत्यकामा ११ हजार १ सय ८६ सहित देशभर १८ हजार ८ सय ८९ कोरोना संक्रमित थपिए । यो तथ्यांकका आधारमा उपत्यकाको अवस्था भयावह हुने आँकलन गर्न थालिएको छ । कोरोना संक्रमणकै कारण पछिल्लो एक सातामा ८१ जनाले ज्यान गुमाए । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ भने ५ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । कोरोना पोजेटिभको कुल संख्या एक लाखनजिकै पुगेको छ ।

‘नेपालमा कोरोना सामान्य रहन्छ, तातोपानी र बेसारले यसलाई सहजै पराजित गछर्’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क र त्यस तर्कलाई समर्थन गर्दै होमा हो जोड्नेको दाबीलाई माथिको तथ्यांकले सोझै खण्डन मात्रै गर्दैन, स्थिति थप भयावह बन्दै गएको संकेत पनि गर्छ ।

जनस्वास्थ्य विज्ञ तथा सरकारी अधिकारीहरूको मूल्यांकनले पनि कोरोना कहर अझै भयाभव हुने देखाउँछ । प्रधानमन्त्रीलगायत सरकारी तथा जिम्मेवार तहमा बसेकाहरूले नै कोरोनालाई सामान्य रूपमा अर्थ्याएपछि सर्वसाधारणले पनि यसलाई निकै सामान्य ढंगले लिइरहेका छन् । परिणाम कोरोना नियन्त्रणभन्दा बाहिर जाने अवस्था सिर्जना हुन थालेको छ ।

स्वास्थ्य मन्त्रालयकै अधिकारीहरूले अब सरकारी प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नहुने बताउन थालेका छन् । जनता आफैं सचेत नभए अवस्था नियन्त्रणबाहिर जान सक्छ, मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारी भन्छन्, कोरोना नियन्त्रण र रोकथाम स्वास्थ्य संस्थाहरूले मात्र पार लगाउन सम्भव छैन, सबैको भूमिका र व्यवहारमा परिवर्तन आवश्यक छ तर अहिलेसम्म त्यस्तो देखिएको छैन, उनले भने ।

जनस्वास्थ्यविद्हरू पनि कोरोना संक्रमणको दरले सरकारको प्रयासलाई फिक्का बनाइदिएको बताउँछन् । स्वयं स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि यस कुरामा सहमत छन् । सरकारले क्षमताअनुसार काम गरिरहेको छ तर संक्रमण दर हेर्दा हाम्रो प्रयास धेरै पछि परिसकेको छ, मन्त्रालयका एक उच्च अधिकारीले भने । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.