सरकारले नयाँ आर्थिक वर्षका लागि जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने

रिपोर्ट नेपाल | 2020 May 08 | 07:21 am 1774

काठमाडाैं, बैशाख २६ः सरकारले नयाँ आर्थिक वर्षका लागि जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । संघीय संसद्ले अघि सारेका कार्यक्रमहरुमा नीति तथा कार्यक्रम ल्याउने संभावित मिति जेठ २ गते उल्लेख छ ।

सरकारले ल्याउन लागेको बजेटबारे संसदमा हुने प्रि–बजेट छलफल भने संसदमा २८ वैशाखबाट सुरु हुने भएको छ । सरकारका नीति तथा कार्यक्रम र बजेट संघीय संसदकाे संयुक्त बैठकमा पेस गर्ने प्रावधान छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नेछन् ।

जेठ १५ गते सरकारको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । प्रि–बजेट छलफल प्रतिनिधि सभामा २८, २९ र ३० वैशाखमा तथा राष्ट्रियसभामा २८ र २९ वैशाखमा हुनेछ । प्रि–बजेट छलफल बजेट आउनुभन्दा १५ दिन अगाडि सुरु गर्नुपर्ने व्यवस्था छ ।

संघीय संसद्को छैटौं अधिवेशन सुरु हुनुअघि सांसद तथा कर्मचारीमा कोभिड–१९ संक्रमण रहे नरहेको बारे पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उच्च स्वास्थ्य सुरक्षाका बीच अधिवेशन आह्वान भएको उल्लेख गर्दै सचिवालयले प्रतिनिधिसभाका सांसद, राष्ट्रिय सभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मीसहित ४ सय ४१ जनाको स्वाब संकलन गरेको हो ।

संसद् सचिवालयका अनुसार १ सय ७९ प्रतिनिधिसभा सांसद, ३३ राष्ट्रिय सभा सदस्य तथा कर्मचारी र मर्यादापालक गरी २ सय २९ जनाको स्वाब संकलन भएको र उनीहरुको परीक्षण सुरु भएको छ । बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन शुक्रबार विहान ८ बजेदेखि १० बजेसम्म गर्ने सचिवालयले जनाएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.