सरकारले घुडा टेक्यो, सेयरमा पुरानै विधिबाट कर गणना हुने

रिपोर्ट नेपाल | 2018 Jun 06 | 02:38 pm 3922

काठमाडौँ, जेठ २३ : बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार झुक्नु बाध्य भएको छ । राजस्व विभागको निर्देशन र लगानीकर्ताको चर्को बिरोधपछि हकप्रद र बोनस शेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने निर्णय फिर्ता लिएको हो ।

बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ । बुधबार अर्थमन्त्रालयका उच्च पदाधिकारी र लगानीकर्ताहरुबीच भएको बैठकमा सरकारले उक्त निर्देशन स्थगित गर्ने र लगानीकर्ताले पनि विरोधका कार्यक्रम फिर्ता लिने सहमति भएको हो ।

लगानीर्ताले सोमबारदेखि विभागको निर्देशन फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका थिए। दोस्रो बजारमा सोमबारदेखि कारोबार नगर्ने भनिएता पनि लगानीकर्ता संघ संगठन मन्त्रालयमा बार्ताको लागि गएसँगै कारोबार भएको थियो।

त्यसपछि पुनः वार्तामा बस्ने भन्दै फिर्ता पठाएको थियो। लगानीकर्ताको वार्तासँगै मन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससीसँगै अहिलेको विभागले निर्देशन गरे बमोजिम कर असुल उपर गर्न सकिन्छ कि सकिँदैन भन्दै राय माग गरेको थियो। तीन वटै निकायले अहिलेको प्रणाली अनुसार कर असुल गर्न सकिने बताएका थिए।

आफ्नो माग सम्बोधन नभएपछि मंगलबार कारोबार ठप्प पारेका लगानीकर्तालाई साम्य पार्न मन्त्रालयले एक अध्ययन समिति बनाएको थियो। यसै समितिको निर्णयका आधारमा अगाडि बढ्ने भनिएको भएता पनि लगानीकर्ता भने बुधबार पनि आन्दोलनमै छन्। उनीहरुले सम्पूर्ण ब्रोकर कार्यालयमा कारोबार नगर्न दबाब दिएका छन् भने धितोपत्र बोर्डमा विरोध प्रदर्शन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.