सरकारलाई दिएको समर्थन फिर्ताको अन्तिम तयारीमा राजपा

रिपोर्ट नेपाल | 2019 Mar 03 | 08:00 am 1382

काठमाडौं, फागुन १९ : सरकारलाई दिएको समर्थन फिर्ता लिन राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वलाई नेता तथा कार्यकर्ताले दबाब दिएका छन्। पार्टीको सांगठनिक अवस्था बुझ्‍न चारवटा प्रदेशमा आयोजित अध्यक्षमण्डलको बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिन अन्त‍िम तयारीमा जुटेको हो।

बैठकमा सहभागी प्रदेश र जिल्लास्तरका नेता–कार्यकर्ताले उपलब्धिविना सरकारलाई समर्थन गर्नुको औचित्य नरहेको सुझाब दिएको अध्यक्षमण्डलका सदस्य सर्वेन्द्रनाथ शुक्लले बताए। ‘पार्टीले सरकारलाई समर्थन गरेको एक वर्षभन्दा बढी भयो, तर सरकारले पार्टीसँग गरेका प्रतिबद्धता के–के कार्यान्वयन गर्‍यो ?’ बैठकमा आएका सुझाबबारे शुक्लले भने, ‘उपलब्धिविनाको समर्थन फिर्ता लिन सुझाब आएको छ।’

आगामी ७ देखि ९ वैशाखसम्म तय महाधिवेशनलाई लक्षित गरी बसेको बैठकमा जिल्ला अध्यक्ष, प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य सहभागी थिए। बैठकमा महन्थ ठाकुर भने अनुपस्थित थिए। प्रदेश १ को विराटनगर र २ को जनकपुरमा बैठक भएको थियो। यस्तै प्रदेश ५ अन्तर्गतका बाँके र बर्दिया तथा ७ का कैलाली र कञ्चनपुरको बैठक नेपालगन्जमा भएको थियो। प्रदेश ५ का परासी, रुपन्देही र कपिलवस्तुमा पनि अध्यक्षमण्डलको बैठक भएको थियो।

अधिकांश नेता–कार्यकर्ताले आगामी महाधिवेशनबाट अध्यक्षमण्डल नराख्न पनि सुझाब दिएका छन्। एक नेतालाई अध्यक्ष बनाउँदा पार्टी सुदृढ बन्ने धेरैको तर्क छ। ‘एक नेतालाई लोकतान्त्रिक प्रद्धतिबाट अध्यक्ष बनाउनुपर्छ भन्ने सुझाब आएको छ,’ शुक्लले भने, ‘अध्यक्षमण्डल बनाउँदा पार्टी व्यवस्थित रूपमा चल्न र विवाद कम हुन सकेन भन्ने तर्क उहाँहरूको छ।’

बैठकमा आएका सुझाबमाथि जवाफ दिँदै अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले महाधिवेशनबाट अध्यक्षमण्डल नरहने बताएका थिए। ‘आगामी महाधिवेशनबाट अध्यक्षमण्डल रहँदैन,’ संयोजक यादवले भने, ‘लोकतान्त्रिक प्रक्रियाबाट एउटा अध्यक्ष चुनिन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.