सरकारलाई गगन थापाको प्रश्न- केका लागि र कसका लागि जनमत संग्रह ?

| 2019 Mar 10 | 02:49 pm 1989

काठमाडौं, फागुन २६ :  सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सरकार र सीके राउतबीचको सहमतिबारे सरकारले स्पष्टरुपमा सदनमा जानकारी गराउनु पर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले सीके राउतसँगको ‘सरप्राइज’ सहमतिबारे जानकारी गराउन माग गरेकाका हुन् ।

सरकार र सीके राउतबीच सहमति हुने सकारात्मक भएको बताउँदै सांसद थापाले भने, ‘सहमतिमा प्रयोग भएका शब्दावलीमा दुई पक्षको आ–आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको छ । केका लागि जनमत संग्रह र कसका लागि जनमत संग्रह हामीलाई जवाफ चाहिन्छ ।’

उनले थपे, ‘सहमतिबारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै यस विषयमा सदनमा छलफल गराउने प्रबन्धका लागि सम्माननीय सभामुख महोदयसँग जोडदार अनुरोध गर्दछु ।’ उनले सहमतिको पृष्ठभूमि र शैली हेर्दा अदालत र सरकारबीच ‘मिलीभगत’ त छैन भन्ने शंका उत्पन्न भएको समेत बताएका छन् ।

‘नेपाल सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेश गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र मधेश र मधेशीको हक खोज्ने भनी भएको सहमति सकारात्मक छ,’ गगनले भने, ‘तर सहमतिको पृष्ठभूमि र शैलीले सरकार र अदालतबीच कतै ‘मिलीभगत’ त छैन भन्ने गम्भीर प्रश्न उठाएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.