सरकारद्वारा एआईजीको संख्या घटाउने निर्णय

| 2018 Jun 10 | 03:26 pm 3309

नेपाल प्रहरीको संरचना अब प्रादेशिक तहअनुसार

मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।

सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिको पहिलो प्राथमिकता दिन आगामी वर्ष एक हजार ६०० दरबन्दी पूर्ति गर्ने तथा बाँकीमा क्रमशः दरबन्दी पूर्ति गर्ने गरी प्रस्तावित तीन हजार १०१ दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले नेपाल प्रहरीका केही पद खारेजी, पद मिलान र दरबन्दी थप गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ताले जनाएका छन् । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी तीन र सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी दुई कायम गरेको छ । यसअघि नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको स्वीकृत दरबन्दी संख्या १६ र सशस्त्र प्रहरी बलमा ६ जना रहेको थियो ।

सरकारले रसुवागढी—स्याफ्रुबेँसी र चीनको च्याङ्बु जोड्ने तथा सिन्धुपाल्चोकको तातोपानी नाकाको मितेरी पुल चीन सरकारको पूर्ण आर्थिक एवं प्राविधिक सहयोगमा पुनःनिर्माण गर्न स्वीकृत गर्ने निर्णय गरेकोे मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । चीन सरकारले उक्त पुल निर्माण गर्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेको थियो ।

सरकारले नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा ऊर्जा मन्त्रालय र चीनको सम्बन्धित क्षेत्रका समकक्षीबीच सहमतिपत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय भएको पनि जानकारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.