सरकारका विरुद्ध सिंहदरबार अगाडि नेविसंघले उडायो कालो बेलुन

| 2019 Feb 01 | 03:11 pm 1731

काठमाडौं, माघ १८ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारको विरोधमा सिंहदरबार अगाडि कालाे बेलुन उडाएको छ।

नेविसंघले सरकारका विरुद्धमा विभिन्न नाराहरू लेखेर सिंहदरबार अगाडिबाट बेलुन उडाएको हो। नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा नेविसंघले बेलुन उडाएर प्रदर्शन गरेको हो।

उनीहरुले निषेधित क्षेत्र पृथ्वीनारायण शाहको शालिकबाटै सो बेलुन उडाएपछि डा.गोविन्द केसीको जीवन रक्षा गर्न र निर्मला पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए ।

नेविसंघले गत माग ११ गते प्रतिनिधिसभाबाट डा.केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको हो ।

डा.केसीको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्धको आन्दोलनलाई झनै आक्रामक बनाउने नेविसंघको चेतावनी छ । नेपाली काँग्रेसले डा.केसीको माग सम्बोधन नगरेको, निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सुरु गरेको आन्दोलनलाई विद्यार्थी संगठन नेविसंघले तीव्रता दिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.