काठमाडौं, पुस ११:भूकम्प पुनर्निर्माणको पाँच वर्षमा ९१ प्रतिशत काम सम्पन्न भएको छ भने ३ सय ३९ अर्ब रुपैयाँ खर्च भइसकेको छ। पुनर्निर्माणका लागि ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरूसँग अनुदान सम्झौता गरेकोमा ५ लाख ५६ हजार ४ सय ८७ अर्थात् ७० प्रतिशत लाभग्राहीले घर पुनर्निर्माण गरिसकेका छन्। १ लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राही घर पुनर्निर्माणको अन्तिम चरणमा रहेका छन्। बाँकी लाभग्राहीले आर्थिक वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्नेछन्।
शुक्रबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थपिएको एक वर्षभित्र पुनर्निर्माणको सम्पूर्ण काम सक्ने बताएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपश्चात्को पुनर्निर्माण मूलभूत रूपमा २०७७/०७८ भित्रै सम्पन्न गर्ने गरी कार्य अघि बढाएको बताएका छन्।
उनले नेपालको भूकम्प पुनर्निर्माणको अवस्था भारत, पाकिस्तान र इन्डोनेसियाभन्दा अगाडि रहेको दाबी गरेको छन्। मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो। थपिएको एक वर्षभित्र सम्पूर्ण काम सक्ने उनले प्रतिबद्धता जनाए।
ज्ञवालीका अनुसार निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरूका सम्बोधन गरिएको छ। गुनासो सम्बोधनबाट थपिएका पुनर्निर्माण लाभग्राहीको संख्या १ लाख ६ हजार ४ सय ६५ छ भने प्रबलीकरण लाभग्राहीको संख्या ६७ हजार ६ सय ८१ छ।
प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ। यीबाहेक जोखिम एवं विपन्न वर्गका लाभग्राहीहरूको घर पुनर्निर्माणमा सहयोग गरी तोकिएको समयमा सम्पन्न गर्नको लागि प्राधिकरणले सहयोग गरिरहेको छ।
प्राधिकरणले करिब ९ सय जना घुम्ती डकर्मी र २ सय ५४ जना सामाजिक परिचालकहरूको परिचालनसहित विशेष अभियान अघि बढाएको छ। प्राधिकरणले सहयोगमा २ सय ४२ घर निर्माण सम्पन्न भइसकेका छन् भने ठूलो संंख्यामा थप निर्माणकार्य अघि बढेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट