सम्झौताबमोजिम बाँकी मल हस्तान्तरण गर्न नेपालले बङ्गलादेशलाई पत्र

रिपोर्ट नेपाल | 2021 Mar 30 | 07:45 am 1881

काठमाडौं, चैत १७ः सम्झौताबमोजिम बाँकी मल हस्तान्तरण गर्न नेपालले बङ्गलादेशलाई पत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडले बङ्गलादेशबाट ल्याउन बाँकी मल समयमै उपलब्ध गराउन पत्र लेखेको हो ।

नेपालले बङ्गलादेशसँगको जीटुजी (सरकार–सरकार) सम्झौताको आधारमा यसअघि २२ हजार पाँच सय मेट्रिक टन रासायनिक मल बुझिसकेको छ । त्यसमध्ये १० हजार मेट्रिक टन मल ल्याइसकेको छ भने बाँकी कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेको केन्द्र जनाएको छ ।

बङ्लादेशले नेपाललाई कुल ५० हजार युरिया मल उपलब्ध गराउने सम्झौता भएको थियो । बाँकी रहेको २७ हजार पाँच सय मेट्रिक टन मल दुई चरणमा ल्याउने गरी नेपालले योजना बनाएको केन्द्रका प्रमुख नेत्र भण्डारीले जानकारी दिए । उनका अनुसार अब पहिलो पटक १०, दोस्रो पटक १७ हजार मेट्रिक टन मल ल्याउने तयारी छ ।

सम्झौताअनुसार हालसम्म नेपालले सबै मल प्राप्त गर्नुपर्नेमा ढिलाइ भएपछि पत्र लेखिएको केन्द्रका प्रवक्ता विष्णु पोखरेलले बताए। बाँकी मल छिटो उपलब्ध गराउन नेपाल सरकार तथा बङ्गलादेशस्थित नेपाली राजदूतावासले प्रयास गरिरहेको छ, उनले भने । हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले गरिएकाे बङ्गलादेश भ्रमणका क्रममा पनि मल छिटो उपलब्ध गराउन आग्रह गरिएको थियो । बङ्गलादेशले पहिलो पटक मल निर्यात गरेकाले केही ढिलो भएको हुनसक्ने प्रमुख भण्डारीको भनाइ छ ।

पछिल्लो समय रासायनिक मलको मूल्य वृद्धि भएका कारण पनि बङ्गलादेशलाई समस्या भइरहेको केन्द्रले जनाएको छ । बङ्गलादेश सरकार र नेपाल सरकारबीच तीन सय ४१ अमेरिकी डलर प्रतिमेट्रिक टनमा मल लिने सम्झौता भएको थियो । अहिले मलको भाउ प्रति मेट्रिक टन चार सय ८० डलर पुगेको छ ।

बङ्गलादेशले वृद्धि भएको मूल्यमै मल लिन आग्रह गरेको छ । नेपालले त्यो स्वीकार गरेको छैन । सम्झौता भएकै समयमा उल्लेख गरिएको मूल्यमा मल प्राप्त गर्नुपर्ने भन्दै नेपालले बङ्गलादेशलाई जानकारी गराएको प्रमुख भण्डारीले जानकारी दिए ।

उक्त मूल्यमा मल उपलब्ध गराउन बङ्गलादेशले आनाकानी गरिरहेको तर अन्त्यमा सम्झौताअनुसार नै मल दिनेमा उनको विश्वास छ । पहिलो पटक मल निर्यात गरेको र यहीँ समयमा मलको मूल्य वृद्धि हुँदा सम्झौताअनुसार मल प्राप्त गर्न समस्या भएको छ, उनले भने, तर बङ्गलादेशले सम्झौताअनुसार नै मल दिनेमा विश्वास छ । गाेरखापत्र दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.