काठमाडौं, कार्तिक ११ : गृहमन्त्री रामबहादुर थापा बादलले समृद्धि मुलुक निर्माण गर्न अपराध र अपराधजन्य कृयाकलाप निस्तेज पार्नुपर्ने बताएका छन्। समाजमा शान्ति र सुरक्षाको निश्चितता नहुन्जेलसम्म मुलुकमा स्थायी, समृद्धी र विकास निर्माण गर्न नसकिने धारणा व्यक्त गरे।
प्रहरी प्रधान कार्यालयले आयोजित गरेको ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देश विकासका लागि गुण्डा, ठग र मानव तस्करलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘ समाजमा अपराधीहरु रहुन्जेलसम्म स्थायित्व कायम गर्न सकिदैन्। समाजमा रहेका सबै प्रकारका अपराध निस्तेज गरिनुपर्छ । शान्ति सुव्यवस्थाको मुख्य बाधक नै अपराधी हुन् । जसले कानुनको अतिक्रमण गर्छन् । तिनै विकास, समृद्धि र सुशासनको बाधक हुन्। त्यसका लागि प्रहरी र समूदायबीच हातेमालोको जरुरी छ।’
उनले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ फलदायी हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
‘गुण्डा ठग, मानव तस्करलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन सकेन’ थापाले भने, ‘यही कारण हामीले देशमा स्थायित्व कायम गर्न सकेनौं । लाखौ युवायुवती जो विदेशमा छन् उनीहरुलाई रोक्न सकेनौं ।’ सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि प्रहरीको यो पहलकदमी महत्वपूर्ण रहने पनि गृहमन्त्रीले विस्वास व्यक्त गरे ।

‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नको लागि दीगो शान्तिको स्थापना गर्न जरुरी छ’, गृहमन्त्रीले भने, ‘मुलुकमा सुशासन कायम गर्न जरुरी हुन्छ । सबै प्रकारका अपराधलाई निस्तेज र नियन्त्रण गर्न जरुरी हुन्छ । शान्तिपूर्ण र सुरक्षित समाजको निर्माण र मुलुकले लिएको अपेक्षा पूर्तिका लागि प्रहरीले थालनी गरेको पहल कदमी महत्वपूर्ण छ ।’
शान्ति, स्थायित्व र सुरक्षा कसरी गर्ने भन्ने बारे नेपाल प्रहरीले अवधारणामा लक्षय हासिल गर्न समूदायका सबै तह र तप्काको योगदान जरुरी रहने पनि बादलले बताए ।
त्यसैगरी गृहसचिव प्रमेकुमार राइले विकास र समृद्धिको पहिलो आधार नै शान्ति सुरक्षा रहेको बताए। समृ्द्ध नेपाल र सुखी नेपालीको नारालार्इ सार्थक बनाउन सुव्यवस्था हनुपर्ने औंल्याउँदै भने, ‘प्रहरी र समुदायको सहकार्यबाट नै उक्त लक्ष्य हासिल गर्न सकिन्छ। प्रहरीले समाजमा हुने अपराध न्यूनीकरण गर्दै समृद्ध देश निर्माण गर्ने लक्ष्यका साथ ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ ल्याएको बताइएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी र नागरिकबीच सहकार्य र समन्वयको आवश्यकता औंल्याए। लक्ष्य हासिल गर्नका लागि जनशक्तिभन्दा पनि इच्छाशक्ति मुख्य विषय भएको बताए।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले हरेक सुखदुखमा प्रहरी आवश्यक पर्ने भएकोले आफ्नो तवरबाट सबैले सहयोग गर्नुपर्ने बताए। उनले स्थानीय तहका तर्फबाट प्रहरीलार्इ शान्ति र सुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
त्यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अभियानको अवधारणा प्रस्तुत गरका थिए। उनले अभियानको उद्देश्य अपराध रोकथाम, सामाजिक विकृति विसंगतीविरुद्ध जनचेतना फेलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्र सामुदायिक सुरक्षालार्इ अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहबीचमा सम्बद्ध सरोकारवालाहरुलार्इ समेत समेटी संस्थागत साझेदारी निर्माण गर्ने रहेको बताए।
प्रहरी नायब महानिरीक्षक शैलेश थापाले कार्यक्रममा सहभागीलार्इ धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु तथा स्थानीयको सहभागिता थियो।

