काठमाडौं, जेठ १८: सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नगर्दा पूर्वमन्त्री विक्रम पाण्डेयको लगानी रहेको निर्माण कम्पनी कालिका तामाङ प्यासेफिक जेभीले ९४ लाख ७९ हजार १ सय ४८ रूपैया जरीवाना तिरेको छ ।
राप्रपा नेता समेत रहेका पूर्ववनमन्त्री बिक्रम पाण्डे, प्रताप तामाङ र ठाकुर कँडेलको साझेदारीमा रहेको उक्त कम्पनीले भैरहवाको अञ्चलपुरदेखि बर्मेलीटोलसम्म २ हजार २ सय मिटर र डण्डा खोलाको पुलसहित दायाँ बायाँ सडक निर्माण गर्नेगरी ४५ करोडमा ठेक्का पाएको थियो।
सम्झौता अनुसार गत मंसिर महिनामा सम्पन्न हुनुपर्ने काम असार मसान्तसम्म काम सके पनि उसको जरीवाना ३ करोड पचास लाख हाराहारी पुग्ने देखिएको छ।
ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया-बुटवलका प्रमुख जिवेन्द्र मिश्रले उक्त निर्माण कम्पनीले गत मंसिरमै काम सक्नुपर्ने सम्झौता गरेकोले तोकिएको समयमा नगरेकोले जरीवाना गरिएको बताए। मिश्रका अनुसार उक्त कम्पनीलाई सम्झौताको सर्त र कावु बाहिरको परिस्थिति उत्पन्न भए प्राप्त गर्ने सुविधाको थप समय दिँदा पनि काम सम्पन्न नगरेकोले जरिवाना गरिएको बताए।
‘हामीले निर्वाचन र बन्द तथा हड्तालका कारण काम गर्न सम्भव नभएको अवस्थामा उक्त कम्पनीलाई थप ५० दिनको समय दिएका थियौं, तर दिएको समयमा समेत काम सम्पन्न भएन त्यसैले जरीवाना गर्न बाध्य भयौ,’ मिश्रले भने।
त्यसैगरी बर्मेली टोलस्थित बुद्धचोकमा बुद्धको मूर्ति निर्माण गर्ने जिम्मा लिएको ‘अलकापपुरी निर्माण सेवा’ ले ५९ हजार रूपैया जरीवाना बुझाएको छ। १६ लाख रूपैयामा निर्माण गर्ने गरी जिम्मा लिएको उक्त कम्पनीले समयमा काम सम्पन्न नगरेकोले ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवल कार्यालयले जरीवाना गरेको हो।