काठमाडौँ, माघ ७ : सत्तारुढ दल (नेकपा)को तर्फबाट रिक्त रहेको सभामुख पदमा अग्निप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् । नेकपालाई सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा)को समेत समर्थ रहेको छ । सापकोटाले मङ्गलवार बिहान ल्होत्से हल, सङ्घीय संसद् भवनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सापकोटाले संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिपक्षी दल नेपाली काँग्रेस भने सभामुखको उम्मेदवारीबाट पछि हटेको छ । मङ्गलवार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
काँग्रेसले पुष्पा भुसाललाई उम्मेदवारी बनाउने चर्चा भए पनि उम्मेदवारी दर्ताको अन्तिम चरण उम्मेदवार नदिने निर्णय गरेको हो । काँग्रेस संसदीय दलले नेकपाको स्पष्ट बहुमत रहेका कारण सभामुखमा काँग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो ।
संसद् सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको छ ।