सभापतिको भेलामा पनि सभापति देउवा प्रति आक्रमक हुने तयारी

रिपोर्ट नेपाल | 2018 Jun 18 | 07:51 am 3416

हेटौडा, असार ४ : नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्र बहादुर बानियाले भोलि मंगलबार देखि सुरू हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

देश भरका ७७ जिल्लाका सभापतिहरूको राष्ट्रिय भेलाको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गएको स्थानिय प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सर्मनाक पराजय भएपछि नेपाली कांग्रेस संगठन विस्तारमा जुटेको जनाइएको छ ।यतिखेर नेपाली कांग्रेस यसरी पराजित हुनुमा सभापति देउवाको कार्यशैली प्रमुख कारक रहेको बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगाएतका अन्य नेताहरुले आरोप लगाएका छन् ।

गएको महाधिवेशनमा शेर बहादुर देउवालार्इ खुलेर सहयोग गरेका नेता चन्द्र भण्डारी, गगन थापा लगाएतका दर्जनौ नेताहरु पनि देउवाको कार्यशैली प्रति सन्तुष्ट छैनन् ।

सभापति देउवाले भने निर्वाचनमा पराजय हुनुमा आफ्नो कुनै दोष नभएर तत्कालिन एमाले र माओवादी केन्द्र वीचको चुनावी एकता प्रमुख कारक भएको बताउदै आएका छन् ।

देउवाको उक्त भनाईलाई केन्द्रीय नेताहरुले मात्र नभएर कैंयौं जिल्लाका सभापति तथा महाधिवेशन प्रतिनिधिले मानेका छैनन् ।

सभापतिहरुको भेला अगावै देउवाबाट पार्टी अघि बढ्न नसक्ने निश्कर्ष सहित केन्द्रीय सदस्य नविन्द्र राज जोशी, चन्द्र भण्डारी, धनराज गुरुङ्ग, गगन थापा, दिपक गिरी, सरिता प्रसाई, हृदयराम थानी, कल्याण गुरुङ्ग लगाएतका नेताहरु देउवा विरुद्ध खुलेर लागेका छन् ।

यिनै नेताहरु देउवाको कार्यशैली प्रति असन्तुष्ट रहेका कारण केहि दिन अघि भएको नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशनमा देउवा प्यानलका सबै उम्मेदवारलाई पराजित गराएका हुन् ।

यसले सभापति देउवा प्रति कार्यकर्ता सन्तुष्ट छैनन् भन्ने सन्देश गएको छ । सभापतिको भेलामा पनि देउवा प्रति आक्रामक किसिमले प्रस्तुतिहुन विभिन्न जिल्लाका सभापति र केन्द्रीय नेताहरुको कोठे बैठक र छलफलहरु विभिन्न चरणमा भईसकेका छन् ।

भेलाको बन्द सत्रमा देउवाले जिल्ला जिल्लाका सभापतिहरुको आक्रोस व्यहोर्नु पर्ने निश्चित प्राय छ । महासमितिको बैठकमा विधान र नियमावलि कस्तो बनाउने भनेर छलफलका लागि बोलाइएको सभापतिको भेलामा नीतिनियमको कुरा भन्दा नेतृत्व प्रति जिल्लाका सभापतिहरु जाइलाग्ने बुझिएको छ ।

भेला तयारी समितिका प्रचारप्रसार संयोजक प्रदीप कोइरालाले खाजा खाना, आवास, प्रदेश समन्वय, अतिथी समन्वय, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतका ११ समितिरउपसमिति संयोजक तोकेर तयारी गरिएको जानकारी दिए ।

७७ जिल्लाका सभापति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सोमबार बेलुकासम्म हेटौडा आइपुग्ने मकवानपुर कांग्रेसले जनाएको छ । भेलामा केन्द्रीय कार्यसमिति र प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरु सहभागी हुनेछन् ।

३ सय जनालाई बास व्यवस्थापन गर्न होटल बुक गरिसकेको कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले जानकारी दिए ।

नगरका ४ स्थानमा स्वागतद्वार बनाउने कार्य भइरहेको छ । २ हजार झण्डा टाँग्ने तयारी रहेको कांग्रेसले जनाएको छ ।

केन्द्रीय पदाधिकारी र सदस्यसहित हुने जिल्ला सभापतिको भेलामा संगठन निर्माण, संघीय व्यवस्थामा संगठन संरचना र समसामयिक राजनीतिक सन्दर्भमा कांग्रेसको भूमिकाबारेमा छलफल हुने मकवानपुर कांग्रेसले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा दोस्रो शक्तिमा खुम्चिएको कांग्रेसले भेलापछि राष्ट्रिय जागरण अभियान चलाउने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.