सबल प्रतिपक्षका लागि नेृतत्व असफल भएको काँग्रेसका युवा नेताको आरोप

रिपोर्ट नेपाल | 2018 Jun 20 | 02:36 pm 2914

काठमाडौँ, असार ६ : नेपाली काँग्रेसका अाठ जना प्रभावशाली युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको आवश्यकता रहेको औँल्याएका छन् ।

हिजो ५ गते देखि मलवानपुरको हेटौँडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित वर्तमान शैली, नेतृत्व वैचारिक अलमलमा परेको बताएका छन् । संसदमा यहि शैलीको नेतृत्वले सशक्त प्रतिपक्षीय भूमिका निर्वाह गर्न नसक्ने कुरा पनि बताएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले लिखित धारणा राखेका हुन् । उक्त धारणामा भनिएको छ अब काँग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगका लागि नयाँ एजेण्डा बोकेर हिँड्न सक्ने गरी संगठनको खाका कोर्न जरुरी भएको र त्यस्तो एजेण्डा बोक्न सक्ने नेतृत्वको आवश्यकता रहेको जनाएका छन् ।

अहिलेको कम्युनिष्ट शक्तिसँग प्रतिस्पर्धा गर्ने र हिजोकोभन्दा पनि बलियो तथा जनमुखी संगठनका रुपमा काँग्रेसलाई डोर्याउने नेतृत्व चाहिएको बताउदै लिखित प्रस्तावमा यसका लागि काँग्रेस स्वयं रुपान्तरित हुनुपर्ने र यी सबको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान भएको उल्लेख छ ।

काँग्रेसले उठाएको विचार र राजनीतिले जित्दै गर्दा राष्ट्रिय राजनीतिमा पार्टी स्वयंले भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा किन जित्न सकिएन भन्ने गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै उनीहरुले यसको समीक्षाका लागि प्रजातन्त्र पुनःस्थापनापछि अहिलेसम्म काँग्रेस कहाँ चुक्यो त्यसको लेखाजोखा हुनुपर्नेगर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

लिखित प्रस्तावमा राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खबरदारीका लागि नेतृत्व फितलो सावित भएकोले लोकतन्त्र र संघीयताको सफल कार्यान्वयनका लागि काँग्रेस रक्षाकबच बन्नुपर्ने उल्लेख गरिएको थियो ।

केन्द्र तथा सबै प्रदेशमा रचनात्मकरुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने र पार्टीलाई संविधानले मार्गनिर्देश गरेअनुरुप तत्काल संघीय प्रणालीमा पार्टीको पुनःसंरचना गर्नुपर्ने सुझाव उनीहरुको थियो ।
पार्टीलाई नयाँ स्वरूप दिनका लागि छलफल गर्दै गर्दा वैचारिक, सांगठनिक र नेतृत्वका बारेमा पनि थप छलफल हुनुपर्ने र विधानअनुसार अर्को साल फागुनमा पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.