सफेद भेषमा गर्ने कालोधन्दालाई कानूनको कठघरामा ल्याउने ज्ञवालीको उद्घोष

रिपोर्ट नेपाल | 2018 Aug 14 | 08:31 pm 4085

चितवन, साउन २९: इलाका प्रहरी कार्यालय टाँडी चितवनका प्रमुख प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले प्रहरी जनतासँग नङ र मासु जस्तै भएर एकआपसमा अपराध हटाउने अभियानमा लागेको बताएका छन् ।  संगठन प्रमुख प्रहरी महानिरीक्षकको टोलटोलमा प्रहरी नारा भनेको जनता र प्रहरी मिलेर अपराधकर्म गर्ने र अपराधीको पहिचान गरी भयरहित समाज बनाउने मुख्य उद्देश्य रहेको बताएका छन् ।

डिएसपी ज्ञवालीले आफू पनि यसक्षेत्रका शान्तिकर्मी जनताको सहयोग लिई अपराधलाई जरैबाट नियन्त्रण गर्न लागी पर्ने प्रतिबद्धता जाहेर गरेका थिए । उनले यस क्षेत्रमा हुने चोरी तस्करी, गुण्डागर्दी नियन्त्रण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको समेत बताएका छन् । भयरहित समाजको निर्माण गर्न सकेमात्र देश विकास गर्न सकिने बताउदै डिएसपी ज्ञवालीले आफूहरुका केहि कमिकमजोरी भए सिधै बताइदिन पनि स्थानीय नागरिक समाजसँग आग्रह गरेका छन् ।

डिएसपी ज्ञवालीले समाजको विकृति र विसंगतिलाई मलजल गर्नका लागि सफेद भेषमा गर्ने कालो धन्दालाई आफूले कुनैपनि हालतमा नछाड्ने बताएका छन् । उनले अगाडी भने लागुपदार्थ दुव्र्यसनी, अवैध घरेलु मदिरा उत्पादन र विक्रीमा नियन्त्रण तथा चोरी तस्करीहरु नियन्त्रण गर्दै शान्त समाज निर्माण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । चाडपर्व नजिकिदै गर्दा हुन सक्ने अवाञ्छित घटना र लुटपाट, चोरी तस्करीको नियन्त्रण गर्न समेत प्रहरी सजग रहेको उनले बताए ।

हालै सरुवा भई आएका डिएसपी ज्ञवालीले आफू आएपछि १६ किलो लागुपदार्थ चरेश बरामद गरेको समेत बताए । त्यस्तै घरेलु एवम् धारिलो हतियार सहित केही व्यक्तिहरु पक्राउ गरिएको र उनीहरुलाई कारवाही अगाडि बढाएको समेत उनले बताएका छन् । विभिन्न अवैध ढंगबाट खोलाजन्य पदार्थहरु निकासी गरेका साधनलाई पक्राउ गरी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको समेत उनले जानकारी दिए ।

यस क्षेत्रलाई भयरहित, स्वच्छ र समुन्नत समाज बनाउनको लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधि, नागरिक समाज, पत्रकार, बुद्धिजीवि लगायत सम्पूर्ण समुदायले प्रहरीलाई साथ र सहयोग दिन समेत उनले आग्रह गरेका थिए ।

प्रहरी नायव उपरीक्षक ज्ञवालीले देशकै अत्यधिक रमणिय पर्यटकीय सौराहालाई आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाइएको बताउँदै व्यवसायीहरुले पर्यटकीय क्षेत्रमा २४सै घण्टा व्यवसाय संचालन गर्ने अवस्था रहेमा पनि मजबुत सुरक्षा व्यवस्था दिन प्रहरी तयार रहेको उनले बताए ।

डिएसपी ज्ञवालीले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै “टोल टोलमा प्रहरी” अभियान अन्तर्गत प्रहरीहरु परिचालन गरी बजार क्षेत्र एवम् ग्रामिण क्षेत्रमा पनि शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको बताए ।

हालै रत्ननगर उद्योग वाणिज्य संघले उपलब्ध गराएको ५ वटा साइकलबाट पनि टोल टोलमा प्रहरीले गस्ती गरिरहेको उनको कथन थियो। टोल टोलमा प्रहरीका अतिरिक्त क्विक रेस्पोन्स टिम ((क्यूआरटी) मार्फत् तत्काल प्रहरीले कुनैपनि घटना वा गतिविधिमा पुग्ने गरेको बताएका छन् ।

डीएसपी ज्ञवालीले विभिन्न बजार क्षेत्र र ग्रामीण क्षेत्रमा हुने सवारी साधन चोरी तथा अन्य अतिरिक्त अवैध गतिविधिहरु नियन्त्रण गर्न प्रहरीले दिनहुँ चेकिङ्ग कार्य समेत गर्ने गरेको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, विना हेल्मेट मोटरसाइकल चलाउने, चालक अनुमति पत्र विना सवारी साधन चलाउने कार्यको नियन्त्रण गर्न प्रहरीले दैनिक ३ देखि ५ स्थानमा चेकिङ्ग गर्न थालेको उनले जानकारी दिए । यस्ता चेकिङ्गहरु दिउसो तथा रातको समयमा पनि गर्दै आएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.