काठमाडाैं, बैशाख २६ः नेपाली सेनाको अगुवाईमा “सफा हिमाल अभियान-२०२३” अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाई कार्य जारी राखेको छ । ३ वटा समुहमा परिचालित टोलीले मिति २०८० वैशाख २४ गतेसम्म निम्न अनुसार फोहोर संकलन गरेको छ । हिमाल हालसम्म संकलित फोहोरको परिमाण (के.जी.) सगरमाथा, ल्होत्से ७,६३२, बरुन्चे १८,५२०, अन्नपूर्ण ३,२५०, जम्मा २९,४०२
अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदान गर्नुका साथै हालसम्म भैरहेको कार्य प्रगतिबारे जानकारी लिन बलाध्यक्ष रथी सिताराम खड्काले यहि बैशाख २३ गते अन्नपूर्ण आधार शिविरको भ्रमण गरे । भ्रमणमा पोखरा महानगरपालिकाका प्रमुख श्री धनराज आचार्य पनि सहभागी थिए । अन्नपूर्ण हिमाल सफाई कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि सहयोग पुर्याएको छ ।
बलाध्यक्षको भ्रमणदलमा पश्चिम पृतनापति उपरथी श्री दिपक कुमार बानियाँ र अभियानका निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डे सहभागी थिए । अन्नपूर्ण हिमाल सफाईमा संलग्न टोलीका सदस्यहरु सह-सेनानी सुमन पाण्डे, प्यूठ मानसिंह चौधरी, सिपाही नवराज राना र सिपाही ज्ञानेन्द्र डाँगीले मिति २०८० वैशाख ०४ गतेको ०८५५ बजे उक्त हिमालको सफल
आरोहण गरेका थिए ।
मिति २०७९ साल चैत्र १४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा Flag-off ceremony सम्पन्न गरी शुरु भएको उक्त अभियानबाट करिब ३५ टन अर्थात ३५ हजार किलो फोहोर संलकन गर्ने लक्ष्य रहेको छ ।
विश्व वातावरण दिवस (June 5) मा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरण प्रदुषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरुमा थुप्रिएको फोहोर हटाउन केहि सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।