सन्‍तानको दीर्घायुको कामना गर्दै जितिया पर्व मनाइँदै

रिपोर्ट नेपाल | 2018 Oct 02 | 10:08 am 2445

काठमाडौं, असोज १६: आदिवासी थारू समुदायका महिलाले मंगलबार जितिया पर्व विशेष रुपमा मनाउँदै छन्। यो पर्व सोमबारदेखि नै शुरु भएको हो ।

आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी थारु महिलाले यो पर्व मनाउने गर्दछन्। असोज कष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिन नहाय खाएर यो पर्व शुरु हुन्छ ।

नहाय खाने दिन (सोमबार) वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छनन्। यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (मंगलबार) वर्तालु महिला २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ ।

यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरिन्छ । पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ ।

थारू महिलासभा काठमाडौँ उपत्यका समितिले मङ्गलबार महोत्सवकै रूपमा कार्यक्रम गरी जितिया पर्व मनाउँदै छ । समितिका अध्यक्ष तारा चौधरीले नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मङ्गलबार ‘थारू राष्ट्रिय जितिया महोत्सव’ आयोजना गरिएको जानकारी दिइन् ।

यस्तै काठमाडौँको बानेश्वर र राष्ट्रिय नाचघरमा समेत जितिया विशेष कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताएकी छन्।

जितिया पर्वका अवसरमा आज उनले शुभकामना सन्देश दिँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, भेषभूषा, गीत सङ्गीतलाई संरक्षण गर्ने कुरा नै हाम्रो मौलिकता बनेको बताइन्।

राष्ट्रपति भण्डारीले नेपाली महिलाले पारिवारिक सुख, खुशियाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गरे।

यस पर्वमा महिलाले आफ्नो परिवारजनको सुस्वास्थ एवं समृद्धिका लागि व्रत बसेर पूजा आरधना गर्ने गर्दछन् । महिलाको महत्वपूर्ण पर्व जितियाले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सु–सम्बन्ध कायम गर्न सफल होस् भन्ने कामना पनि राष्ट्रपतिले गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.