सन्दीपको मुद्दामा अपरान्हसम्म फैसला आउन सक्ने

| 2024 May 15 | 01:00 pm 689

काठमाडौँ २ जेठ / क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा मंगलबार दिनभर भएको सुनुवाइका क्रममा बहस नसकिएपछि बुधबार दोस्रो दिन पनि बहस जारी छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष विपक्षका वकिलहरूले बहस गरिरहेका छन् । न्यायाधीशद्वयले बुधबार नै फैसला दिने तयारी गरेको श्रोतको दाबि छ । न्यायाधीशद्वयले दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएका छन् । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका छन् ।

सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमन श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरिसकेका छन् । पीडित भनिएकी युवती गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गरेका छन् ।

काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्चअदालत पुगेका थिए ।

सुनुवाइको अन्त्यमा जवाफी बहस टुंगिएसँगै आजै फैसला आउन सक्ने जनाईएको छ । उच्चले सफाइ दिएमा सन्दीपका लागि अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्ने बाटो खुल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.