ललितपुर, चैत ७: विश्वभर फैलिएको (कोभिड–१९) को महामारीको सङ्क्रमण नेपालमा फैलन नदिन पूर्व तयारी अनुसार ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना शुक्रबारदेखि बन्द गरिएको छ । अब अर्को सूचना जारी नगरेसम्म सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार, कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो ।
हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए । विद्यालयमा वार्षिक परीक्षा सकिएको र विद्यार्थीको अवलोकनको मुख्य आकर्षण चिडियाखाना रहेकाले बन्द गरिएको उनले बताए ।
अवलोकनको लागि बन्द गरे पनि जीवजनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन् ।
चिडियाखानामा एक सय १९ प्रजातिका एक हजार ९८ वटा जीवजनावर रहेको छ । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
पछिल्लो समय उपत्यकामा कम हुँदै गएको खुला स्थान र जीवजनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोककर्तामा कुनै कमी आएको छैन ।
अवलोकनका लागि विदेशीको लागि ७ सय५० रुपैयाँ तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका नागरिकका लागि ५ सय रुपैयाँ, नेपालीलाई १ सय ५० रुपैयाँ र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।