सत्य तथ्य बुझेर मात्र समाचार लेख्न मुख्यमन्त्री शाहीको आग्रह

| 2019 Jun 16 | 02:15 pm 2138

सुर्खेत, असार १: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको चौथो अंगका रुपमा रहेको पत्रकार जगतले तथ्य र सत्य समाचार लेख्नुपर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले पछिल्लो समय बिभिन्न सञ्चार माध्यमबाट भइरहेको अनर्गल प्रचारबाजीले स्वयम् संचार जगतको गरिमा घट्नुका साथै जनतामा निराशा छाएको बताएका छन् ।

सिभिल बैंकको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नेतृत्वका विरुद्ध भ्रम सिर्जना गरी सङ्घीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने मनसायले गरिएका प्रचारबाजी बिरुद्ध सचेत रहन आग्रह गरे । मुलुकमा कानूनी शासन रहेकाले सरकारमा बस्नेले भ्रष्ट्राचार गरेको पाइए कानूनबमोजिम दण्ड हुने उनको भनाई रहेको थियो ।

सङ्घीयतालाई असफल पार्न एउटा तत्व अनर्गल प्रचारबाजीमा लागि रहेकोले त्यस्ता भ्रामक कुराको पछाडी नलाग्न पनि शाहीले आग्रह गरेका छन् । संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानूनी राज्य भएको र गैरकानूनी काम गर्ने जो कोहीले कसुरबमोजिम सजाय भोग्नुपर्ने बताउँदै भ्रष्टा«चारका समाचार लेख्दा बुझेर लेख्न मुख्यमन्त्री शाहीको आग्रह थियो ।

व्यवसायीको लगानी सुरक्षाको वातावरण प्रदेश सरकारले बनाउने मुख्यमन्त्री शाहीको भनाइ थियो । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कर्णालीको आवश्यकताबमोजिम लगानी गरेर यहाँको नागरिकको आर्थिक उन्नति गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.