काठमाडौँ ३ जेठ / सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको हो ।
बिहीबार पत्रकार सम्मेलन मार्फत् केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्दै नेकपा एसले सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत संलग्न भएको कुरा बाहिर आउनु दु:खद भएको उल्लेख गरेको छ । कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् ।
यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ’ केन्द्रीय कमिटीको बैठकको निर्णयमा उल्लेख गरिएको छ ।