सडक किनारमा मकै पोलेर बनाए भरतपुरमा घर

| 2018 Dec 24 | 06:54 am 2546

चितवन, पुस ९ : सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् ।

भरतपुर महानगरपालिका वडा नं १२ वसन्त चोकमा लक्ष्मी बुढाथोकी र उनका श्रीमान् लक्ष्मण बुढाथोकीले मकै पोलेर घर बनाएका छन्। भरतपुर अस्पतालको चोकमा मकै पोल्दै गरेकी बुढाथोकीले भनिन, “हामीले यो व्यवसाय गरेको १९ वर्ष भयो ।” लक्ष्मीले सुरुवातीदेखि नै त्यही चोकमा मकै पोल्दै आएको छ भने श्रीमान् लक्ष्मणले पहिले ठेलामा मकै पोल्ने गरे पनि अहिले बालमन्दिर नजिकै चोकमा मकै पोल्दै आएका छन्ए। यही कमाइले यो दम्पतीले तीन सन्तान हुर्काएको छ।

जेठी छोरीको विवाह भइसक्यो भने एक छोरा र कान्छी छोरी कक्षा ११ मा पढ्दै छिन् । परिवारको पालनपोषण, पढाइ, विवाह दानसँगै जग्गा खरीद गरेर घर बनाउन उनीहरु सफल भएका छन्। उनीहरुले जिल्लाको टाँडी, शुक्रनगर र गैँडाकोटबाट मकै ल्याएर श्रीमान् श्रीमती नै मकै पोलेर बेच्दै आएका छन्। पहिला ठेलामा मकै बेच्दा केही राम्रो भए पनि अहिले एक ठाउँमा मात्र बसेर मकै बेच्दा पहिलाको जस्तो कमाइ हुन नसकेको लक्ष्मीले बताए।

आफूले विवाह गर्दा श्रीमानले रिक्सा चलाउने गरेको भए पनि पछि दुवै जनाले मकै बेचेर बस्न थालेको उनले बताए। चितवन माइत र नुवाकोट घर भएकी बुढाथोकी विवाहपछि घर नगई यही बसेर काम गर्न थालेको बताउछन्।

श्रीमानको रिक्सामा कमाइ कम हुँदै गएपछि आफूले मकै पोल्न थालेको र पछि श्रीमानले पनि मकै पोल्न थालेको उनले बताइन्। जाडोको समयमा १५० घोगासम्म मकै बिक्री हुने गरेको बताउने बुढाथोकी गर्मी समयमा भने ५० घोगा पनि बिक्न कठिन हुने बताउछन्। अहिले दैनिक एक जनाको आम्दानी रु दुई हजार हाराहारी हुने गरेको लक्ष्मीले बताउनुभयो । “बिहान जाडोमा गएर मकै ल्याउनुपर्छ, दुःख छ दुःख भएर के गर्ने काम गर्नै पर्‍यो”, उनले भने।

अहिले स्थानीय सरकारले सडकमा मकै पोलेर बेच्न नदिँदा व्यवसाय धरासायी बन्दै गएको उहाँको गुनासो छ। विदेशमा गएर सङ्घर्ष गर्नुभन्दा जति दुःख भए पनि आफ्नै देशमा काम गर्दा आनन्द आउने उनी बताउँछन्। उनले भने, “आफ्नो देशमा मेहनत गर्‍यो भने सफल भइन्छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.