सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक

रिपोर्ट नेपाल | 2019 Dec 09 | 10:17 am 1876

भीमदत्तनगर, मङ्सिर २३ :  तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ ।

उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी छन् । अहिले उनको गृहनगर खुशियालीले रमाएको छ ।

जनकपुरमा गत शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उनले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाएकी थिइन् । धामीको मेहनत, परिश्रम र नियमित प्रशिक्षणले नेपाललाई सफलता हात लागेको प्रशिक्षक राजेन्द्र चन्दले बताए ।

तीन वर्षअघि हेटौँडामा भएको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट उनले कुस्तीमा स्पर्धा थालेकी थिइन् ।

“तीन वर्षअघि भीमदत्तनगर छेउछाउका स्कूलहरुमा खेलाडी खोज्दै हिँडेका बेला सङ्गीतालाई यहाँको भृकुटीबाट खेलमा ल्याएको हुँ”, प्रशिक्षक चन्दले भने, “सङ्गीताको स्वर्णले सबैलाई खुशियाली दिलाएको छ ।” यसअघि बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि उनले स्वर्ण पदक हात पारेकी थिइन् ।

उनले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी छन् । स्नातक तहको अध्ययनलाई अघि बढाउने योजनामा उनी छिन् । बाह्र्राैँ सागदेखि मात्र महिला कुस्तीलाई प्रतियोगितामा समावेश गरिएको थियो । बाह्रौँ सागमा पनि सुदूरपश्चिमबाट तीन जना महिला खेलाडीले भाग लिएका थिए । प्रशिक्षक चन्दका अनुसार अहिले सुदूरपश्चिबाट सहभागी अधिकांश महिला खेलाडीले नेपाललाई पदक दिलाएका छन् ।

त्यसैगरी भीमदत्तनगरका शिवाङ्गी दुबे, अम्बिका भण्डारी र मनिषा सिंह र कोमल खत्रीले पनि पदक प्राप्त गर्न सफल भएका छन् । शिवाङ्गी, अम्बिकाले रजत र मनिषा र कोमलले काष्य पदक हात पारेको प्रशिक्षक चन्दले जानकारी दिए । त्यसैगरी भीमदत्तनगरकी निर्मला जागरीले पनि रजत पदक जितेकी छिन् । पछिल्लो समय सबैभन्दा बढी महिला कुस्ती खेलाडी भीमदत्तनगरबाट साग स्प्रर्धामा पुगेका छन् ।

“महिलातर्फ सात जनामा छ जना भीमदत्तनगरकै खेलाडी पर्न सफल भएका थिए । त्यसैगरी पुरुषतर्फ कुस्तीको ७० किलोतौल समूहमा कास्य पदक भीमदत्तनगरका सुरेश चुनाराले दिलाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.