सक्रिय राजनीतिमा फर्किनुपर्ने बाध्यता किन आइलाग्यो ?

रिपोर्ट नेपाल | 2021 Sep 08 | 12:35 pm 373

  • देवप्रकाश त्रिपाठी

आफैंलाई संसार ठान्न पाउने हक हरेक मानिसलाई छ र, प्राकृतिक रूपमा प्राप्त त्यस्तो ‘अधिकार’को उपयोग आममानिसबाट भइरहेको हुन्छ । तर आफूलाई संसार ठान्ने र संसारलाई आफू ठान्ने मानिसको चैतन्य तह र व्यवहारमा भने ध्रुवीय अन्तर रहन्छ । म सामान्य किसान परिवारमा पैदा भएर जिन्दगीको त्यस बिन्दुमा आइपुगेको छु जहाँबाट किशोरबयमै जीवनको यात्रा शुरु भएको थियो ।

मेरो बाल्यकालमा चार पुरुष र दुई महिलाका सोच-व्यवहारले पारेको प्रभावबाट म अहिलेसम्म मूक्त हुन सकेको छैन । रेडियोमा समाचार प्रशारण हुने समयमा हजुरबुबा लक्ष्मीप्रसादले हामीलाई मात्र नभइ सबैलाई बोल्न र आवाज प्रकट हुने गरी चलफिर गर्न रोक लगाउनुहुन्थ्यो । समाचार प्रशारणको समाप्तिपछि कठोर मौनता तोड्न पाउँदा पिंजडाबाट मुक्त भएको पन्क्षी झैँ महसूस गरिन्थ्यो, उहाँचाहिँ वरिपरि रहेका मानिसलाई प्रशारित समाचारका बारेमा टिप्पणी र विश्लेषण गर्न थाल्नुहुन्थ्यो । देश-परदेशका घटना परिघटनाप्रति राग पैदा गराउने काम मेरो हजुरबुबाले नै गर्नुभएको थियो । मेरा पिताजी देवराज बारम्बार हामीलाई अर्ति दिँदै भन्नुहुन्थ्यो- ‘उत्तम कृषि उद्यम, मध्यम व्यापार र निम्न जागीर ।’ बुबाको यो कुराले म र मेरा भाइहरूलाई ‘जागिरे’ बन्न सधैं निरुत्साहित गऱ्यो । यद्यपि मैले एसएलसीको परीक्षा दिएर परिणाम नआउँदासम्म चेपाङ बस्तीको एउटा प्राथमिक विद्यालयमा शिक्षक भएर बिताएको थिएँ भने पछि कारणवश राष्ट्रिय समाचार समितिको महाप्रबन्धकका रूपमा करिव दुई वर्ष जागिरे भएर समय गुजार्नु परेको थियो । रेडियो नेपालको सञ्चालक समिति सदस्य र त्यसबेलाको लोकप्रिय कार्यक्रम घटना र विचारको सञ्चालक हुनुलाई मैले ‘जागीर’ मानेको छैन ।

एसएलसी उत्तीर्ण भएर प्रमाणपत्र लिन विद्यालय पुग्दा प्रधानाध्यापक ठाकुरप्रसाद शर्मा र शिक्षक विष्णुपुकार श्रेष्ठले मलाई कानून विषयमा उच्च शिक्षा हाशील गर्न सुझाव दिनुभएको थियो । तर अङ्ग्रेजी शिक्षक पदम ओलीको रायअनुसार मैले दर्शनशास्त्र अध्ययन गर्ने मन बनाएको थिएँ । पाटन संयुक्त क्याम्पसमा मानविकी विषय लिएर प्रमाणपत्र तह पूरा गरेपछि दर्शनशास्त्र र राजनीति शास्त्रमा त्रिचन्द्र कलेजबाट स्नातक गरियो । त्यसै समयमा म चित्रकलाको विद्यार्थी थिएँ ललितकला क्याम्पसमा । प्रमाणपत्र तहमा अति उच्च अङ्क ल्याएपछि मेरा गुरुहरू राधेश्याम मुल्मी, मनुजबाबु मिश्र र शशी शाहले चित्रकलाको अध्ययनका निम्ति विदेश जान सुझाउनुभएको थियो, तर म नेपाल छोडेर लामो समयका निम्ति बाहिरिने मानसिकतामा थिइनँ । ललितकलामै बीएफए भर्ना भएँ, तर दोस्रो वर्षको अन्तिम परीक्षा नदिएर चित्रकला विषयको औपचारिक अध्ययनमा पूर्णबिराम लगाइदिएँ । त्रिचन्द्र कलेजबाट दर्शनशास्त्रमा स्नातक गरेपछि सोही विषयमा स्नातकोत्तर अध्ययन गर्न नेपालमा पाइएन । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको सङ्ख्या कम हुने भन्दै उक्त विषयको कक्षा सञ्चालन गर्न चाहेन । अध्ययनका अन्य सबै विषयले समग्रमा ‘कसरी बाँच्ने’ भन्ने प्रश्नको जवाफ खोज्थ्यो, जुन विधामा मेरो रुचि थिएन । दर्शनशास्त्रले ‘किन बाँच्ने’ भन्ने प्रश्नको जवाफ खोज्दै सृष्टि र जीवनका रहश्यहरूमाथि विचरण गर्छ र, मेरो मन यिनै विषयमा अड्किएको थियो । त्रिभुवन विश्वविद्यालयले एक न एक दिन दर्शनशास्त्रको स्नातकोत्तर कक्षा प्रारम्भ गर्ने आशामा धेरै वर्ष प्रतीक्षा गरियो । त्यसक्रममा त्रिवि र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरूलाई भेटेर पटक-पटक आग्रह पनि गरियो, तर उहाँहरूको जवाफ सधैं एउटै रह्यो- ‘विद्यार्थी नै हुँदैनन् ।’ स्नातक गरेको करिव दुई दशकपछि समाजशास्त्रमा स्नातकोत्तर कक्षामा भर्ना भएँ, तर त्यसका पाठ्यसामाग्रीले मलाई आकर्षित नगरेपछि छोडिदिएँ ।

उनीहरूले एक स्वरले भने- ‘एउटा किरा मर्ला कि भनेर चिन्ता गर्ने मान्छे कसरी कम्युनिष्ट हुन सक्छ !?’ मैले भनेँ- ‘कम्युनिष्टले झन् संसारका सबै प्राणीलाई माया र संरक्षण दिनुपर्ने होइन र ?’ जवाफमा उनीहरूले भने- ‘कम्युनिष्ट भएपछि क्रान्तिका लागि मर्न-मार्न डराउनु हुन्न, यस्ता कायर मान्छे कम्युनिष्ट हुन सक्दैनन ।’ हो, त्यसैदिनदेखि मैले आफूप्रति फर्किएर आत्मसमीक्षा गर्न थालेको थिएँ । मान्छेले मान्छेको हैसियतबाट राजीनामा दिएपछि मात्र कम्युनिष्ट बन्न सकिने हो भने जिन्दगीमा कम्युनिष्ट बन्न नमिल्ने-नसकिने हो कि भन्ने प्रश्न मेरो मानसपटलमा विचरण गर्न थाल्यो ।

पाटन क्याम्पसमा प्रमाणपत्र तहको प्रथम वर्षमा अध्ययन गर्दैगर्दा मेरो कक्षाका प्रिय साथी गणेश सापकोटा (काभ्रे, हालसम्म मा.वि.का प्रधानाध्यापक)ले लोकसेवा आयोगबाट मागिएको खरिदार पदको आवेदन फाराम लिएर आउनुभएको रहेछ, एउटा आफ्ना लागि र अर्को मेरो निम्ति । उहाँले फाराम किन्नुअघि मलाई त्यस कुराको जानकारी गराउनुभएको थिएन । मैले उहाँलाई धन्यवाद भन्दै आफू ‘जागीर’ खान इच्छुक नभएकोले फाराम नभर्ने जवाफ दिएँ । तर सापकोटाजीले आफूमाथि दर्शाएको प्रेमको अपमान गर्न चाहिनँ, एउटा बेग्लै अनुभव पनि हुन्छ भनेर फाराम भरेर पढ्दै नपढी लोकसेवाको लिखित परीक्षामा सामेल भएको थिएँ । उत्तीर्ण भएपछि मौखिक परीक्षामा चाहिँ सहभागी नबनौँ भन्ने लागेको थियो, अनुभवकै निम्ति भनेर त्यसमा पनि सामेल भइयो र उत्तीर्ण पनि । मैले नियुक्ति नलिने लिखत गरिदिँदा वैकल्पिक उम्मेदवारले मौका पाउने निश्चित थियो र, उक्त व्यक्तिको खोजी पनि गरियो । अहिलेजस्तो सञ्चारको विकास र सामाजिक सञ्जालको ‘आविष्कार’ भइदिएको भए सम्भवतः फेला पर्थे पनि होलान्, त्यो समयमा सकिएन । त्यसरी वैकल्पिक उम्मेदवार खोज्नुको कारण गोरखापत्रमा नियुक्ति बुझ्न आउने सूचना प्रकाशित भएर मेरो घरपरिवारका सदस्यले थाहा पाउने डर थियो । आखिर गोरखापत्रले सूचना प्रकाशित गरिछाड्यो र, गोरखापत्रका नियमित ग्राहक मेरो फुपाज्यू गोपाल कँडेलले थाहा पाउनुभयो ।

त्यसैबेला कामविशेषले मेरो प्रिय गाउँ मलेखु (रिचोकटार) पुगेको थिएँ र, गाउँ पुगेपछि बाबु, आमा र हजुरबुबा-हजुरआमा बाहेक फुपाज्यू गोपाल कँडेल र दिदी (फुपु) सरितालाई नभेटिकन काठमाडौं फर्किन मन मान्दैनथ्यो । उहाँहरूको घर कम्पाउण्डमा पुग्ने बित्तिकै फुपाज्यूले सोध्नुभयो- ‘तिमीले खरिदार पदमा ‘जागीर’ खान लोकसेवाको परीक्षा दिएका थियौ ?’ जवाफमा मैले ‘हो, तर…’ भन्ने बित्तिकै घरको बाहिरी कम्पाण्डको ढोकातिर औंलाले देखाउँदै भन्नुभयो- ‘खरिदारको नियुक्ति पत्र बुझ्यौ भने जिन्दगीभर त्यो ढोकाभित्र नपस्नु ।’ त्यसपछि मैले कुन स्थितिमा लोकसेवाको परीक्षा दिनु परेको थियो भन्दै आफू नियुक्ति लिने पक्षमा हुँदै नभएको विश्वास दिलाएँ । उहाँले भन्नुभयो- ‘तिमीमा केही विशेष काम गर्ने क्षमता मैले देखेको छु । पञ्चायतविरुद्धको आन्दोलनमा होमिएका छौ, पछि उच्च जिम्मेवारी लिनुपर्ने अवस्था आएमा ‘यो मान्छे पहिले मुखिया-खरिदारमा जागिरे थियो’ भनेर तिम्रो खिल्ली उडाउने छन् । बरु राजनीतिमा चासो भएको मानिसको कलम र वाणी राम्रो चल्नुपर्ने हुन्छ, त्यतातिर अभ्यास गर ।’ उहाँका यी वाणी मेरो जीवनमा दिव्योपदेश झैँ भइदियो ।

बाह्य ज्ञान र ज्ञानवर्द्धक पुस्तहरूमा रुचि जगाउने काम मेरा कान्छाबुबा देवप्रसाद (जयदेव)ले गर्नुभएको थियो । मलाई कम्युनिष्ट राजनीतितिर आकर्षित गराउने कार्य पनि उहाँबाट नै भएको हो । उहाँले त्यसरी कम्युनिष्ट राजनीति (त्यसबेलाको अखिल छैठौँ, नेकपा चौम)तिर मलाई नजोड्नुभएको भए कम्युनिष्ट आन्दोलन कति गलत र विकृत छ भन्ने कुराको विस्तृत ज्ञान आर्जन गर्नबाट म वञ्चित हुने थिएँ । कैयन राम्रा मानिससमेत मान्छेको पहिचान मेटेर कम्युनिष्ट बनेको जानकारी मलाई हुने थिएन । नौ वर्षसम्म कम्युनिष्ट आन्दोलनसँग जोडिएर रहँदा अखिलको केन्द्रीय को-अर्डिनेटरसम्मको जिम्मेवारी लिइयो, त्यस क्रममा राजनीतिका कैयन रहश्य बुझ्ने मौका मलाई मिल्यो । नौ वर्ष त्यस आन्दोलनमा रहँदा मैले कुल डेढ वर्षसम्म जेल यातना भोग्नु परेको थियो भने अठार पटक प्रहरी हिरासतमा रहनुपर्दा भेटिएका यातनाको स्मरण बेलाबखत भइरहन्छ ।

‘पञ्चहरूले देश बनाउन सक्दैनन्, हामी बनाउँछौँ देश’ भन्दै पन्ध्र वर्षको उमेरमै राजनीतितर्फ आकर्षित भएको म अब देश बचाएर मात्र मर्न पाए हुन्थ्यो भन्ने मनोबिन्दुमा आइपुगेको छु । आफूलाई संसार ठान्ने मानिसहरूको भिडमा संसारलाई आफ्नो मान्ने मान्छे गन्तव्यमा सफल हुन अनेकौँ चुनौतीहरूको सामना गर्न तयार रहनुपर्छ भन्ने मलाई थाहा छ ।

सोह्र वर्षको उमेरमा धादिङ जिल्ला प्रशासन कार्यालयले पक्राउ गरी यातना दिएर केही दिनपछि तारेखमा छोडेपछि राज्यसत्ता कठोर भएको महसूस गरेको थिएँ । २०४२ सालमा काङ्ग्रेसले चलाएको सत्याग्रहमा सहभागी भएबापत जेल चलान हुँदा एक्काइस वर्षको थिएँ । ललितपुरका तत्कालिक प्रजिअ विन्देश्वरी सिन्हा र डिएसपी कृष्णमोहन श्रेष्ठ अगाडि बसेर पुल्चोकस्थित प्रहरी चौकीमा तीन जना सिपाहीद्वारा तीस मिनेटसम्म कुटाएको घटनाले मेरो आत्मविश्वास बढाएको अनुभूति गरेको थिएँ । दोस्रो पटक जेल पर्दा सत्र दिनसम्म हनुमानढोकामा थुनेर पनि थप शारीरिक यातना दिइएको थिएन । अखिल पाँचौँका नेताहरू चन्द्र भण्डारी, रामप्रसाद ज्ञवाली, शङ्कर पोखरेल तथा सीताराम मास्के, केशव स्थापित, दिलबहादुर श्रेष्ठ, गोविन्दनाथ उप्रेती, रमण श्रेष्ठ एवम् पत्रकार हरिहर विरहीजीहरूसँगको जेलबसाइ अनेकौँ कारणले स्मरणीय बन्न पुग्यो ।

त्यसअघि २०४२ सालमा नक्खु कारगारामा रहँदा भएको एउटा सामान्य घटनाले मलाई आफू कम्युनिष्ट भएर राजनीतिमा क्रियाशील रहनेबारे पुनर्विचारको प्रारम्भ गराएको थियो । एक दिन ‘मर्निङ वाक’को समयमा मेरो अघि-अघि हिँडिरहेका मित्रजनमध्ये पाटनका भगतसिंहले तरकारी बारीतिरबाट निस्किएर बाटोमा आइपुगेको अभिसाररत किराको जोडीमाथि पाइला टेक्ने स्थिति देखापऱ्यो । उनीहरूलाई बचाउने अर्को कुनै उपाय नदेखिएपछि पछिल्तिरबाट भगतसिंहलाई ठेलिदिएँ, किरा जोगियो तर उनी ढुनमुनिँदै तरकारीबारीतिर पुगे र, आफूलाई मुस्किलले सम्हालेर फर्कंदा भगतसिंह क्रुद्ध हुँदै मुठ्ठी कसेर मतिर जाइलागे । मैले जोडी किरालाई जोगाउन यस्तो गल्ती गरेको बताएपछि उनको कस्सिएका मुठ्ठी त खुल्यो तर घृणामिश्रित लवजमा मलाई भने- ‘यू कम्युनिष्ट ?’ सँगै रहेका अष्टमान महर्जन (स्वर्गीय) ले थपे- ‘यस्तो मानिस कम्युनिष्ट हुन सक्दैन ।’ बिहानी हिँडाइका यात्रीहरू उभिएर यो सब दृष्य हेर्दै थिए । मैले भगत र अष्टमानजी समक्ष जिज्ञाशा प्रकट गरेँ- ‘म किन कम्युनिष्ट बन्न सक्दिनँ ? उनीहरूले एक स्वरले भने- ‘एउटा किरा मर्ला कि भनेर चिन्ता गर्ने मान्छे कसरी कम्युनिष्ट हुन सक्छ !?’ मैले भनेँ- ‘कम्युनिष्टले झन् संसारका सबै प्राणीलाई माया र संरक्षण दिनुपर्ने होइन र ?’ जवाफमा उनीहरूले भने- ‘कम्युनिष्ट भएपछि क्रान्तिका लागि मर्न-मार्न डराउनु हुन्न, यस्ता कायर मान्छे कम्युनिष्ट हुन सक्दैनन ।’ हो, त्यसैदिनदेखि मैले आफूप्रति फर्किएर आत्मसमीक्षा गर्न थालेको थिएँ । मान्छेले मान्छेको हैसियतबाट राजीनामा दिएपछि मात्र कम्युनिष्ट बन्न सकिने हो भने जिन्दगीमा कम्युनिष्ट बन्न नमिल्ने-नसकिने हो कि भन्ने प्रश्न मेरो मानसपटलमा विचरण गर्न थाल्यो । पछि दर्शनशास्त्र अध्ययन क्रममा पूर्वीय दर्शनहरूमध्ये कपिलमुनि कृत साङ्ख्य दर्शनको सारले माक्र्सवादको आधारभूत मान्यता भङ्ग गरायो । माक्र्सले द्वन्द्वात्मक भौतिकवादको ब्याख्या गर्दै चेतना स्वतन्त्र तत्व नभएको र यो केवल पदार्थको परिणाम मात्र भएको चार्वाकीय मान्यताअनुरूपको धारणा बनाएको, तर साङ्ख्यले पदार्थ र चेतन (प्रकृति र पुरुष) तत्वको स्वतन्त्र भूमिका र, सृष्टि र जीवनमा त्यसले पार्ने प्रभावहरूलाई लिएर एउटा बेग्लै तथ्यको उजागर गरेको छ । साङ्ख्य, न्याय र वैशेषिक दर्शनले आकर्षित गरेपछि माक्र्सवादी भौतिक दर्शनको मार्ग सम्पूर्ण रूपले परित्याग गरियो र, कम्युनिष्ट आन्दोलनसँगको आबद्धता मानसिक र भौतिक रूपले तोडियो ।

कम्युनिष्ट आन्दोलनबाट बाहिरिने क्रममा मैले जुन विचार बनाएको थिएँ, म अहिले पनि त्यहि बिन्दुमा उभिएको छु । काङ्ग्रेसले मौलिक विचार परित्याग गरी आफूलाई वामपन्थीकरण गरेपछि पनि कैयन मानिस काङ्ग्रेसमै अल्झिरहेका छन् । सिद्धान्तनिष्ठ, इमानदार र विचारशील नेता-कार्यकर्ताहरूका निम्ति काङ्ग्रेस परायाले बलजफ्ती कब्जा गरेर राखेको घरजस्तै भएको छ । खासमा काङ्ग्रेस ‘उनीहरूले छोडेका हुन्, तर काङ्ग्रेसको मौलिक विचार पथमा अटल रहेकाहरूले चाहिँ काङ्ग्रेस परित्याग गरेजस्तो देखिएको छ ।

मैले किशोरबयमै जीवनको लक्ष्य तय गरेको थिएँ । राजनीतिकर्मी बन्ने र देशको सेवा गर्ने पहिलो प्राथमिकतामा थियो । राजनीति नगरिएमा उद्यमी या चित्रकार बन्ने र जीवनको बैसठ्ठीयौँ वर्ष पूरा भएपछि सन्त जीवनमा प्रवेश गरी ब्रह्म चिन्तनमा केन्द्रीत रहने भन्ने मेरो आन्तरिक अठोट थियो । त्यससँगै मैले जीवनमा पत्रकारिताचाहिँ कुनै पनि हालतमा नगरिने ठानेको थिएँ । २०४४ सालमा कारागारमुक्त भइसकेपछि पनि हरिहर विरहीजीसँगको मेरो मित्रता कायम थियो र, उहाँ त्यसबेलाको चर्चित पत्रिका विमर्शको अन्तर्वार्ताकार हुनुहुन्थ्यो । जेलमा रहँदा मैले उहाँलाई एक असल, भद्र र राम्रा मानिसका रूपमा पहिचान गरेको थिएँ । जेलमुक्त भइसकेपछि पनि हाम्रो मित्रताले निरन्तरता पाइरह्यो, हामी आपसमा भेटघाट गरिरहन्थ्यौँ । त्यसै क्रममा २०४६ साल असोजको दोस्रो साता (सम्भवतः १३ गते) शुक्रबार उहाँको पत्रिका प्रकाशित भएको दिन हाम्रो भेट भयो । उहाँको कुनै कामले हामी सुन्धारास्थित दूरसञ्चार कार्यालयमा सँगै पुगेका थियौँ र त्यहाँका एक कर्मचारीको टेबलमा विमर्श पत्रिका थियो, मैले उठाएँ र पढेँ । अन्तिम पृष्ठमा हरिहर विरहीलाई पत्रिकाबाट हटाइएको समाचार रहेछ, उहाँले पनि देख्नुभयो । हामी त्यहाँबाट बाहिरिएपछि मैले उहाँलाई सान्त्वना दिँदै भनेको थिएँ- ‘तपाईं अब आफ्नै पत्रिका शुरु गर्नुहोस्, केही महिनासम्म स्वयम्सेवीका रूपमा म पनि लेखिदिउँला र नगद आवश्यक पर्छ भने कोपुण्डोलमा रहेको चार आना जग्गा बैंकमा धितो राख्न दिनेछु ।’ विरहीजीले जग्गा नचाहिने तर केही समय लेखन सहयोग आवश्यक पर्ने भन्नुभएपछि म उहाँको पत्रिका (पछि उहाँले विमर्शको सम्पादक/प्रकाशक केशवराज पिँडालीलाई नै आफ्नो पक्षमा ल्याउनुभयो) सँग केही महिनाका निम्ति जोडिएँ । तर त्यो जोडाइ नै मेरो पत्रकारिता जीवनको प्रारम्भ हुन पुग्यो । यद्यपि मेरो मन पत्रकारितामा नभएर राजनीतिमै अड्किएको थियो ।

कम्युनिष्ट आन्दोलनसँग वैचारिक रूपमै अलग्गिएपछि अगाडिको बाटोलाई लिएर एक प्रकारले अन्यौल पैदा भएको थियो । २०४६ फागुन ७ गते शुरु भएको जनआन्दोलनले सफलता (चैत २६ गते) पाएपछि मेरो अन्यौल झनै बढ्यो । वैचारिक रूपले काङ्ग्रेस ठीक भएको ठम्याइ मेरो थियो, हरेक पाँच या चार वर्षमा निर्वाचनका माध्यमबाट क्रान्ति (सरकार बदल्ने) गर्ने, विचारका आधारमा सङ्गठित भइ निर्वाचनमा सहभागी बन्न पाइने, सबै विचार समूह र राजसंस्थाबीच समन्वयात्मक सम्बन्ध रहने ब्रिटिष मोडलको संसदीय प्रजातन्त्र, धर्मसापेक्ष राष्ट्र, एकीकृत (अर्थात् एक केन्द्र भएको) सार्वभौमिकता र गैह्रजातिवादी अवाधारणासहितको समाजवादलाई काङ्ग्रेसले आफ्नो विचार दर्शन बनाएकोले मलाई काङ्ग्रेस मन परेको थियो । तर काङ्ग्रेसका नेताहरूमा देशको समस्या, त्यसको समाधान र समृद्धिका विषयमा कुनै चेत नरहेको महसूस मैले जेलबसाइदेखि नै गरेको हुनाले म दुविधामा थिएँ । बहुदलीय प्रजातान्त्रिक संसदीय व्यवस्थाको घोषणा भएलगत्तै नयाँ दल गठनको तयारीस्वरूप डा. देवेन्द्रराज पाण्डे, पद्मरत्न तुलाधर, टङ्क कार्की, डा. मुकेश चालिसे र ठाकुरचन्द्र श्रेष्ठ लगायतका व्यक्तिहरूसँग केही चरण छलफल भए, तर ती छलफलहरूबाट ‘घ्यू’ निस्किएन । त्यसताक डा. बाबुराम भट्टराईले पनि सबै देशभक्त र प्रजातन्त्रवादी शक्तिलाई समेट्ने गरी ‘संयुक्त जनमोर्चा’ नामक दल दर्ता गराउने प्रस्ताव लिएर आउनुभएको थियो । आफू अध्यक्ष रहेर मलाई महासचिव बन्न प्रस्ताव उहाँले गर्नुभएको थियो । मैले जिज्ञाशा राखेँ- ‘यो पार्टीले माक्र्सवाद मान्ने छ कि छैन ?’ उहाँले भन्नुभयो- ‘मार्क्सवाद एउटाचाहिँ भनिदिउँ न, यो अलिक वैज्ञानिक विचारजस्तो मलाई लाग्छ ।’ मैले भनेँ- ‘मार्क्सवादमा मेरो आस्था र विश्वास छैन, यदि मार्क्सवाद पनि नमान्ने हो भने यस विषयलाई लिएर सम्पर्क गर्नुहोला, होइन भने म रहन सक्दिनँ ।’ एभरग्रीन नामक रेष्टुरेण्ट (बागबजार) को ढोकामा उभिएर अन्तिम सम्वाद गरेको हेक्का मलाई छ ।

त्यसै कालखण्डमा तत्कालिक नेकपा मालेको प्रवक्ताका रूपमा सार्वजनिक हुनुभएका मदन भण्डारीसँग पनि भावी राजनीतिका विषयलाई लिएर मेरो केही चरण छलफल भएको थियो । उहाँ कम्युनिष्ट नाम बदल्न तयार हुनुहुने हो भने त्यसै पार्टीमा जोडिनुपर्ला भन्ने ठानेको थिएँ । तर उहाँले निकै मृदुभाषामा ‘समय र आवश्यकता अनुरूप विचार धारणा बदलिन सक्ने कुरालाई अहिले नै त्यस्तो प्रतिबद्धता जाहेर गर्न सकिँदैन’ भन्ने जवाफ दिनुभयो । विचारका आधारमा म काङ्ग्रेससँग जोडिनु उपयुक्त हुन्थ्यो, तर त्यसपछिको भविष्यमा पहिलेको कम्युनिष्ट भनेर भिन्न व्यवहार गरिने त्रासका कारण यसरी विभिन्न विकल्पमा अभ्यास गर्दै थिएँ । अन्त्यमा कुनै विकल्प फेला नपरेपछि एक्लै वागबजारस्थित काङ्ग्रेस कार्यालयमा गएँ र, सभापति कृष्णप्रसाद भट्टराईसँग पार्टीको साधारण सदस्यता लिएँ । किशुनजीसँगै त्यहाँ रहनुभएका तत्कालिक सहमहामन्त्री वासु रिसालले केही मिनट मेरो प्रशंसामा खर्च गर्नुभयो । त्यस घटनाको अर्को वर्ष झापाको कलवलगुडीमा भएको आठौँ महाधिवेशनमा मलाई पर्यवेक्षकका रूपमा सहभागी गराइएको थियो । त्यसपछिको केही वर्ष मैले आफ्नो आन्तरिक व्यवस्थापनमा ध्यान दिँदादिँदै पनि पत्रकारिता र राजनीतिसँगै अघि बढिरहेको थियो । वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा मेरो निर्वाचन क्षेत्रमा मेराप्रति भारी समर्थन हुँदाहुँदै पनि गिरिजाप्रसाद कोइरालासँग निकट भएको आरोपमा मलाई उम्मेदवार बन्नबाट वञ्चित गरियो । अर्को निर्वाचन क्षेत्रका एक ठेकेदारलाई ल्याएर मेरो क्षेत्रमा उम्मेदवार बनाइयो । यदि त्यतिबेला मलाई उम्मेदवार बनाइएको भए पत्रकारिता छोडेर राजनीतिक भूमिकामा केन्द्रीत रहने मन मैले बनाएको थिएँ, तर त्यस्तो अवसर जुरेन । निर्वाचनपश्चात ममाथि अन्तरर्घातको मिथ्या आरोप लगाएर कारवाहीको सिफारिश गरियो । यस घटनाले पार्टीभित्रका मेरा प्रतिष्पर्धी मित्रहरू निम्न कोटीका अस्वस्थ व्यक्ति भएको अनुभूति मलाई गरायो । त्यसपछि घटना र विचार पत्रिका प्रकाशन गरेर अघि बढ्ने योजना बन्यो । कुनै न कुनै रूपले पार्टी काममा पनि सक्रिय रहँदै थिएँ ।

२०५६ सालको संसदीय निर्वाचनमा उम्मेदवार बन्ने मेरो तयारी थिएन । २०५८ सालपछि नेपाली राजनीतिमा उत्पन्न उतारचढावलाई निकै निकट रहेर नियाल्दै आएँ, त्यसपछिका केही घटनाहरूले मलाई नेपालको राजनीति सतहमा देखिएभन्दा पूरै भिन्न रहेको महशुस गरायो । माओवादी हिंसात्मक युद्ध र त्यससँगै जोडिएका अनेकौँ घटनाक्रमहरूले २०६३ को परिवर्तन नेपाली राष्ट्रियता र राष्ट्रिय एकताविरुद्ध केन्द्रीत रहेको छर्लङ्ग देखिएको थियो । नेपाली राजनीतिको भित्री पाटोका बारेमा लेखिएको अनुसन्धानात्मक पुस्तक निकट भविष्यमा नै सार्वजनिक गर्ने तयारी एउटा प्रकाशन गृहले गरिरहेको छ । उक्त पुस्तकले नेपाली राजनीतिको वास्तविकता प्रस्फुटन गर्ने विश्वास लिएको छु । कम्युनिष्ट आन्दोलनबाट बाहिरिने क्रममा मैले जुन विचार बनाएको थिएँ, म अहिले पनि त्यहि बिन्दुमा उभिएको छु । काङ्ग्रेसले मौलिक विचार परित्याग गरी आफूलाई वामपन्थीकरण गरेपछि पनि कैयन मानिस काङ्ग्रेसमै अल्झिरहेका छन् । सिद्धान्तनिष्ठ, इमानदार र विचारशील नेता-कार्यकर्ताहरूका निम्ति काङ्ग्रेस परायाले बलजफ्ती कब्जा गरेर राखेको घरजस्तै भएको छ । खासमा काङ्ग्रेस ‘उनीहरूले छोडेका हुन्, तर काङ्ग्रेसको मौलिक विचार पथमा अटल रहेकाहरूले चाहिँ काङ्ग्रेस परित्याग गरेजस्तो देखिएको छ । छोडेको त काङ्ग्रेसले किशुनजीलाई हो, तर प्रचार किशुनजीले काङ्ग्रेसलाई छोडेको भन्ने भएको छ ।

जनअसन्तुष्टिसँग आफ्नो महत्वकाङ्क्षालाई एकाकार गर्दै अनेकौँ आकारप्रकारका ‘प्राणीहरू’ सलबलाउन थालेपछि म झस्किएँ । सन्त-जीवनमा प्रवेश गर्ने मेरो समय निकट हुँदै गर्दा यो समयमा केही महत्वपूर्ण चित्रहरू तयार गर्ने र ‘विशेष पुस्तक’हरू प्रकाशनमा ल्याउने मेरो पूर्वनिर्धारित योजना बदल्न बाध्य भएँ । बैसठ्ठी वर्ष पूरा हुनुभन्दा अगाडिका केही वर्ष राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, स्वधर्म-संस्कृति र जातीय एवम् क्षेत्रिय सद्भावका पक्षमा दृढतापूर्वक उभिने इमानदार नेपालीहरूको शक्तिशाली तथा एकतावद्ध सङ्गठन निर्माणका निम्ति खर्च गर्ने अठोट गरिएको छ ।

२०६३ को रहश्यमयी परिवर्तनसँगै मैले लेखेर या बोलेर राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा वातावरण बनाउने प्रयास गरिरहेँ । सङ्घीयता, धर्मनिरपेक्षता, जातिवाद, क्षेत्रियतावाद र गणतन्त्र जस्ता एजेण्डा किन नेपालको हितमा छैन र, कसले कुन उद्देश्यबाट क-कसलाई सिखण्डी बनाएर नेपाल (राज्य) लाई कमजोर तुल्याउँदै छ भन्ने विषयमा मात्र डेढ दशकभित्र सयौँ लेख/रचना प्रकाशित भएका छन्, कैयन टेलिभिजन अन्तर्वार्ताहरूमार्फत आममानिसलाई सचेत गराउने प्रयास पनि हामीबाट हुँदै आएको हो । नेपालविरुद्ध रचिएका कपटी चालहरूबारे स्पष्ट भएसँगै मैले आफ्नो राजनीतिक आकाङ्क्षा-महत्वकाङ्क्षा सम्पूर्ण रूपले परित्याग गरेँ । कोही आउन् र देश बचाउन् भन्ने आशैआशामा डेढ दशक बित्यो । शिखण्डी भूमिकामा क्रियाशील राजनीतिकर्मीको समग्र सोच तथा कार्य व्यवहारको परिणाम देखिन थालेपछि वर्तमान संविधान (व्यवस्था) निर्माणमा मूख्य र अन्तिम भूमिका निर्वाह गर्नेहरूप्रति जनतामा असन्तुष्टि र वितृष्णा पैदा हुन थाल्यो । जनअसन्तुष्टि बढेसँगै विभिन्न आकारप्रकारका अभियान लिएर मानिसहरू सडकमा देखापर्ने क्रम बढ्यो, बढ्दैछ ।

जनअसन्तुष्टिसँग आफ्नो महत्वकाङ्क्षालाई एकाकार गर्दै अनेकौँ आकारप्रकारका ‘प्राणीहरू’ सलबलाउन थालेपछि म झस्किएँ । सन्त-जीवनमा प्रवेश गर्ने मेरो समय निकट हुँदै गर्दा यो समयमा केही महत्वपूर्ण चित्रहरू तयार गर्ने र ‘विशेष पुस्तक’हरू प्रकाशनमा ल्याउने मेरो पूर्वनिर्धारित योजना बदल्न बाध्य भएँ । बैसठ्ठी वर्ष पूरा हुनुभन्दा अगाडिका केही वर्ष राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, स्वधर्म-संस्कृति र जातीय एवम् क्षेत्रिय सद्भावका पक्षमा दृढतापूर्वक उभिने इमानदार नेपालीहरूको शक्तिशाली तथा एकतावद्ध सङ्गठन निर्माणका निम्ति खर्च गर्ने अठोट गरिएको छ । राजनीतिमै हस्तक्षेप नभएसम्म देशविरोधि एजेण्डाहरूलाई विस्थापित गर्न नसकिने ठहरसहित ‘एकिकृत शक्ति नेपाल’ गठन भएको छ । यो सङ्गठनले निर्धारित लक्ष्य हाशील गर्न इमानदार प्रयास गर्नेछ, भद्रकालीमा पुगेर सङ्गठनका अगुवाहरूले रक्त समर्पण गरी शपथ लिएका छन् । सङ्गठनको अध्यक्षका रूपमा मैले जीवनभर मन्त्री/सांसद नबन्ने सार्वजनिक घोषणा गरेको छु । एउटा सशक्त जनशक्ति निर्माण गर्ने र त्यही शक्तिले ‘नोज डाइभ’मा रहेको मुलुकलाई दुर्घटनामा पर्नबाट जोगाउने विश्वास र अठोट हामीले लिएका छौँ ।

मेरी आमा दुर्गादेवी र दिदी (फुपु) सरिताले मलाई दिनुभएको ज्ञान शिरोधार्य छ । आत्मविश्वासका साथ प्रस्तुत हुन दिदीले सिकाउनुभएको थियो भने माता र मातृभूमिप्रतिको कर्तव्यबोध मेरै आमाले गराउनुभएको हो । मेरी आमा र स्वर्गीय दिदी सरिताले बोध गराउनुभएको कर्तव्यपथबाट कहिल्यै विचलित र स्खलित होइने छैन । ‘पञ्चहरूले देश बनाउन सक्दैनन्, हामी बनाउँछौँ देश’ भन्दै पन्ध्र वर्षको उमेरमै राजनीतितर्फ आकर्षित भएको म अब देश बचाएर मात्र मर्न पाए हुन्थ्यो भन्ने मनोबिन्दुमा आइपुगेको छु । आफूलाई संसार ठान्ने मानिसहरूको भिडमा संसारलाई आफ्नो मान्ने मान्छे गन्तव्यमा सफल हुन अनेकौँ चुनौतीहरूको सामना गर्न तयार रहनुपर्छ भन्ने मलाई थाहा छ । देशका पक्षमा एकीकृत शक्ति निर्माण गर्ने हाम्रो अभीष्ट पूरा नभए नेपालको अस्तित्व सुदूर भविष्यसम्म सूरक्षित रहन नसक्ने निष्कर्शमा पनि पुगिएको छ । मृत्यु निश्चित छ, जीवन मात्र अनिश्चित हो, तर आममानिसमा जिन्दगी निश्चित र मृत्यु अनिश्चित भन्ने भ्रमपूर्ण मानसिकता रहन्छ । कोरोना महामारीबाट हामी जो जोगिदैछौं, जोगिएका छौँ, समाज, धर्म, राष्ट्र, राष्ट्रियता, प्रकृति, वनस्पति र पर्यावरणका निम्ति केही गर्न अवसर थपिएको भनेर बुझ्नु उपयुक्त हुनेछ । तथापि केही थाल भुजा, केही थान मोटर, केही खात नगद र केही अरु शारीरिक तृप्ति थपेर मानिसको आकार र पशुका प्रकारले बाँकी जिन्दगी गुजार्ने छुट पनि हरेकलाई छ, हामीले यसो गर्न खोजेनौँ । बाँकी जिन्दगी मातृभूमिका नाममा समर्पण गर्दै राजनीतिमा प्रवेश गरिएको छ ।
जय मातृभूमि ! घटना र विचारबाट


फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.