काठमाडौँ ०४ जेठ / नेपाली कांग्रेस संसदीय दलको शुक्रबारको बैठकले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संप्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार सभामुखले विपक्षीको अवरोधबीच सदन सञ्चालन गर्न खोजेकोमा आपत्ति जनाएको छ ।
सरकार र सत्ता पक्षलाई जनहित बिरोधी कार्यमा नलाग्न चेतावनी दिने बैठकले निर्णय पनि गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर बिरोध जनाउादा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर बिरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको बैठकले ठहर गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा वचत गरेको अर्बौं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बैठकले थर गरेको छ । ‘यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद् बाहिर पनि गम्भीर रुपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको छ । नेपाली काँग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग बैठकले गरेको छ ।
तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्दछ । सभामुख सिंगो सदनको सभामुख हुनुपर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ’ बैठकमा भनिएको छ ।