संसद् विघटनपछि सुरक्षा व्यवस्था कडा

| 2020 Dec 21 | 08:25 am 2423

काठमाडौं, पुस ६ः सरकारले संसद् विघटन गरेपछि मुलुकभरको सुरक्षा कडा पारिएको छ । सरकारले संसद् विघटनको निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भइरहेका बेला राजधानीलगायत देशैभरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका थिए ।

सत्ता पक्षबाट नै सरकारको कदमको तीव्र विरोध भएपछि नेपालको पछिल्लो सुरक्षा अवस्थाका बारेमा नेपाली सेनाको प्रिन्सिपल स्टाफ बैठक (पीएसओ)को बैठकले समेत सुरक्षाका बारेमा छलफल गरेको सैनिक मुख्यालयले जनाएको छ ।

मुख्यालय स्रोतका अनुसार मुलुकको पछिल्लो अवस्था नाजुक बन्दै गएकाले देशभरका पृतनालाई सुरक्षा सतर्कता अपनाउन प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका छन् ।

सरकारको उक्त कदमपछि राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने देशभरका मुख्य शहरहरुमा समेत सुरक्षा व्यवस्था कडा बनाउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । प्रदेश सुरक्षा प्रमुखहरुलाई समेत शान्ति सुरक्षाका बारेमा जानकारी लिनसमेत निर्देशन दिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले देशभरको शान्ति सुरक्षालाई कायम राख्न मातहतका निकायलाई निर्देशन दिएका छन् । अहिले मुलुक जटिलमोडमा पुगेकाले शान्ति सुरक्षा पहिलो प्राथमिकता भएकाले सोहीबमोजिम काम गर्न निर्देशन दिएको बताइएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.