काठमाडौँ ३१ भदौ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै विगत केही दिनदेखि संसद् बैठक अवराेध गर्दै आएको थियाे । आजको बैठकमा भने माओवादीले प्रधानमन्त्रीलाई बोल्न दिने भएको छ।
यसैबिच, संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि नै अन्त्य हुँदैछ। अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेकाे छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले छानबिन प्रतिवेदन पेश गर्ने लगायतका विषय उल्लेख छन् ।