संसद्को आयु सकिनु अगावै बिदा लिँदै सांसदहरु

| 2022 Sep 15 | 08:11 am 1921

काठमाडौं, भदाै ३०ः निर्वाचन आयोगको सूचनाअनुसार प्रतिनिधिसभाको आयु असोज १ गतेसम्म छ । संसद्को आयु सकिनु २ दिनअघि नै सांसदहरु धमाधम बिदा भएको घोषणा गरिरहेका छन् । बुधबारको संसद् बैठकबाट केही सांसदहरुले औपचारिक रुपमा बिदा मागेर घर फर्केका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरु रंगमति शाही, भरत शाह, रेनुका गुरुङ र मीना पाण्डेले बिदा लिएका हुन् । नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले शून्य समय आफ्नो कार्यकालका लागि अन्तिम दिन रहेको बताए । हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद शाहीले कर्णालीकै खस भाषामा संसदमा रहँदा राम्रो बोलेको भए सम्झनुस् यदि नराम्रो बोलेको भए बिर्सिदिनुस् भन्दै यो कार्यकालको संसद् अन्तिम दिन भएको बताएन् ।

उनले आफ्नै खस भाषामा भनिन्– ‘निको भन्या सम्झी झाया, फुर्चो भन्या बिर्सी झाया (राम्रो बोलेकी भए सम्झिदिनु, नराम्रो बोलेकी थिएँ भने बिर्सिदिनु) ।’ सांसद शाहीले कर्णालीका प्रतिनिधि भएका नाताले कर्णालीका पीडा र समस्या भन्ने क्रममा कहिलेकाहीं प्रधानमन्त्री, मन्त्री, सांसदहरु र पार्टीका मुख्य नेताहरुलाई नमीठो लाग्ने गरी गरी बोलेको बताइन् । तर त्यसलाई व्यक्तिगत रुपमा नलिइदिन आग्रह गरिन् ।

त्यस्तै शून्य समयकै क्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भरत शाहले संसद्को समय अन्तिम अवस्थामा आइपुगेकाले अब हुने संघ र प्रदेशका निर्वाचनमा निर्वाचित भएर आउने सबैलाई शुभकामना दिँदै यो कार्यकालमा आफ्ना लागि संसद्को बैठक अन्तिम भएको बताए । संसदमा सभामुख, उपसभामुख र कर्मचारीलाई निरन्तर संसद् सञ्चालनमा सहकार्य र सहयोग गरेकोमा पनि धन्यवाद दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रहसमेत गरे । शाहले भने–‘सम्माननीय राष्ट्रपतिकोमा नागरिकता विधेयक गएको छ । नागरिकताविहीन नागरिकको अधिकार रक्षाका लागि भए पनि प्रमाणीकरण गरेर संसदमा पठाउनुहोला । नागरिकताविहीन भएर बाँचेका धेरै नागरिकलाई यसले ठूलो राहत दिनेछ ।’

संघीय समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले पनि बुधबार आफ्ना लागि कार्यकालको अन्तिम शून्य समय भएको बताइन् । संसदीय भूमिकामा ल्याउन सहयोग गर्ने आफ्नो पार्टी संघीय समाजवादीलाई उनले साधुवाद दिँदै संसदमा सहभागी सांसदबाट राजनीतिक जीवनमा धेरै प्रेरणादायी कुरा सिकेको स्मरण गरिन् । उनले भनिन्– ‘यो संसद्बाट मेरो राजनीतिक जीवनमा धेरै कुराहरु सिकेकी छु, आगामी राजनीतिलाई यो मेरा लागि प्रेरणाको स्रोत बन्नेछ ।’ उनी आगामी आम निर्वाचनमा जाँदै गर्दा फेरि पनि संसदमा भेट्ने अवसर पाउने अपेक्षासहित आफ्नो पार्टी र सम्पूर्ण नेता–सांसदलाई धन्यवाद दिँदै बिदा भए ।

त्यस्तै, नेपाली कांग्रेसकी सांसद मीना पाण्डेले पनि बुधबारबाटै संसद्बाट बिदा भएको घोषण गरिन् । उनले आफ्नो स्वास्थ्यका कारणले संसदमा सक्रिय भूमिका निर्वाह गर्न नसकेको बताइन् । ‘अनुपस्थितिका लागि सिंगो सदन, पार्टी र सम्पूर्ण जनतामाझ क्षमायाचना गर्छु’ –पाण्डेले भनिन् । नागरिकता विधेयकलाई राजनीतिक मुद्दा नबनाउन पाण्डेले आग्रह गरिन् । अङ्गीकृत नागरिकतामा अल्झिएर नागरिकता पाउनुपर्ने नागरिकलाई बञ्चित नगर्न माग गर्दै पाण्डेले भनिन्– ‘नागरिकता नभएका नागरिकलाई मृत्युको मुखबाट जोगाउन नागरिकता विधेयक राष्ट्रपतिबाट चाँडै प्रमाणीकरण होस् ।’ विधेयक प्रमाणीकरण हुन्छ र नागरिकता पाउँछाैं भनेर आशले बसेका नागरिकताविहीन नागरिकको अधिकारलाई राष्ट्र प्रमुखले नै कुल्चनु नहुने स्मरण गराउँदै उनी बिदा भइन् ।

यसअघि सरकारले ल्याएको संसद्को म्याद थप्ने विधेयकका विषयमा संसद्मा छलफल शुरु हुँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसद्बाट बिदा लिएसकेका  थिए । सत्तापक्षले संसद्को अवधि लम्ब्याउन चालेको कदमको विरोध गर्दै उनले आफ्नो नाममा जम्मा हुने तलबभत्तासमेत जम्मा नगर्न आग्रह गर्दै बिदा लिएका थिए । संसद्को आयु थप्ने विधेयकका सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतको विरोधपछि सरकार पछि हटेको छ । निर्वाचन आयोगले आगामी २ र ३ गते समानुपातिकका लागि बन्द सूची पेस गर्ने कार्यतालिका सार्वजनिक गरिसकेकाले सोहीअनुसार असोज १ मै प्रतिनिधिसभाको कार्यकाल सकिने निर्वाचन आयोगले संकेत गरिसकेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.