संसदीय यात्रामा २० भन्दा बढी व्यवसायी

| 2022 Dec 01 | 08:02 am 1089

काठमाडाैं, मंसिर १५ः अब सांसद बन्न सडक आन्दोलनमा सक्रिय हुनु, जेलनेल भोग्नु, व्यक्तिगत स्वार्थ त्याग गर्नु मात्र नभएर व्यावसायिक क्षेत्रमा सफलता हासिल गर्नु पनि योग्यताको कसी बन्न पुगेको छ। जसका कारण उद्योगी–व्यवसायीले धमाधम सांसद बन्ने अवसर पाइरहेका छन्। उद्योगी तथा व्यवसायी समानुपातिकबाट मात्र नभई प्रत्यक्ष चुनाव लडेरै निर्वाचित हुन थालेका छन्। मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट २० जनाभन्दा बढी उद्योगी–व्यवसायी संसद्का लागि चुनिएका हुन्।

विगतमा समानुपातिक सूचीमा बसेर सांसद बनेकाहरू अहिले प्रत्यक्ष निर्वाचनबाट संसद्मा पुगेका छन्। त्यसका एक उदाहरण हुन्, उद्योगपति विनोद चौधरी। दुईपटक समानुपातिक सूचीबाट सांसद बनेका उनी यसपटक प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन्। चौधरी ग्रुपका अध्यक्ष रहेका अर्बपति चौधरीले नवलपरासीबाट चुनाव जितेका हुन्।

संसद् नीति निर्माण गर्ने थलो हो। नीति निर्माण गर्ने संसद्मा व्यापारीहरू आउँदा स्वार्थको द्वन्द्व हुने आकलन गरिन्छ। तथापि प्रत्यक्ष निर्वाचन लडेर जनताबाट अनुमोदित भई उद्योगी–व्यवसायीहरू संसद्मा आएका छन्। व्यावसायिक पृष्ठभूमि भएका राजनीतिकर्मी सांसद हुने क्रम हरेक निर्वाचनमा बढ्दै गएको छ। विगतमा समानुपातिकमा बस्ने परम्परा रहे पनि यसपटकको निर्वाचनमा धेरै व्यवसायी प्रत्यक्ष निर्वाचन लडेर संसद्मा पुगेका हुन्। उनीहरू नेपाली कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट टिकट पाएर विजयी भएका हुन्।

नेपाली कांग्रेसबाट चुनाव लडेका अधिकांश उद्योगी–व्यवसायी प्रतिनिधिसभा सदस्य बनेका छन्। पर्यटन व्यवसायी राजेन्द्र बजगाईं दोस्रोपटकको प्रयासमा संसदीय यात्रा तय गरेका छन्। २०७४ सालको निर्वाचनमा पराजित भएका उनी यसपालि गोरखा १ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मेडिकल व्यवसायी सुनिलकुमार शर्मा मोरङ ३ बाट निर्वाचित भए। कांग्रेस नेतासमेत रहेका शर्मा विराटनगरस्थित नोबेल मेडिकल अस्पतालका सञ्चालक हुन्। वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित भएका छन्।

अर्का पर्यटन व्यवसायी योगेश गौचन थकाली मुस्ताङबाट निर्वाचित भए। निर्माण व्यवसायी कान्छाराम तामाङले रामेछापबाट चुनाव जिते। तामाङ कन्स्ट्रक्सन सञ्चालक हुन्। क्रसर व्यवसायी विष्णुकुमार कार्की नवलपरासी २ बाट विजयी भएका छन्। गुरुङ, गौचन, तामाङ, कार्की कांग्रेसबाट टिकट लिएर चुनाव लडेका हुन्। संखुवासभा १ बाट निर्वाचित कांग्रेसका दीपक खड्काको जलविद्युत्, निर्माण, पर्यटन क्षेत्रमा लगानी छ। सप्तरी ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरी शिक्षा क्षेत्रका व्यापारी हुन्। चौधरीको ललितपुर कुपण्डोलमा नाइटिंगेल स्कुल सञ्चालनमा छ। प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट चुनाव लडेका उमेश श्रेष्ठ भने पराजित भएका छन्। श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पराजित भएका हुन्।

कांग्रेस मात्र नभएर अन्य पार्टीबाट टिकट लिएर उम्मेदवार बनेका व्यवसायीहरू पनि विजयी भएका छन्। झापा ४ बाट निर्वाचित लालप्रसाद साँवा लिम्बू म्यानपावर व्यवसायी हुन्। उनलाई एमाले उम्मेदवार बनाएको हो। पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा विजयी एमालेका वसन्तकुमार नेम्वाङ जलविद्युत् क्षेत्रका लगानीकर्ता हुन्।

अघिल्लो निर्वाचनमा तनहुँबाट कांग्रेस नेता रामचन्द्र पौडेललाई पराजित गरेर सांसद बनेका व्यवसायी कृष्णकुमार श्रेष्ठ (किसान) फेरि सांसद बनेका छन्। नेकपा एसबाट गठनबन्धनको सहयोगमा बारा ४ मा श्रेष्ठ विजयी भएका हुन्। त्यसैगरी नेकपा एसबाट डोटीका प्रेम आले र डोल्पाका धनबहादुर बुढा पनि निर्वाचित भएका छन्। उनीहरू पनि व्यवसायी नै हुन्।

पुराना राजनीतिक दल मात्र नभएर नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि व्यवसायी विजयी भएका छन्। सो पार्टीका तर्फबाट काठमाडौं ६ मा शिशिर खनाल विजयी भए। खनाल लजिस्टिक सेवा प्रदायक ‘पिक एन्ड ड्रप’का संस्थापक हुन्। कालिका कन्ट्रक्सनका सञ्चालक रहेका निर्माण व्यवसायी विक्रम पाण्डे चितवन ३ बाट विजयी भएका छन्। उनले राप्रपाबाट चुनाव लडेका थिए। सिराहा ४ बाट चुनाव जितेका वीरेन्द्र महतो माछापुच्छ्रे बैंकका अध्यक्ष हुन्। चितवन १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सेयर कारोबारी हुन्। पर्सा ३ बाट निर्वाचित राजकुमार गुप्ता वीरगन्जका व्यापारी हुन्। गुप्ताको स्टिल उद्योग छ। मकवानपुर १ बाट निर्वाचित राप्रपाका दीपकबहादुर सिंह कवाडी व्यवसायी हुन्।

प्रतिनिधिसभाको प्रत्यक्ष मात्र नभएर समानुपातिक सूचीमा समेत व्यवसायी छन्। प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन नेकपा एमालेबाट जनजाति समूहतर्फ समानुपातिकको १ नम्बर सूचीमा छन्। उनी प्रतिनिधिसभा सदस्य हुने निश्चित छ। त्यसैगरी अर्का व्यवसायी अनिल रुंगटा पनि नेपाली कांग्रेसको समानुपातिक सूचीमा छन्।

चुनाव खर्चिलो हुँदै गएपछि व्यवसायीहरू राजनीति गर्न तम्सिएका हुन्। यसरी राजनीतिमा भित्रिएका व्यवसायी कोही पहिल्यै सांसद भइसकेका छन् भने कोही नयाँ अनुहारका छन्। आर्थिक रूपमा सम्न्नि भएकले व्यापारसँगै राजनीतिमा पनि व्यापारीको आकर्षण बढ्दै गएको छ। चुनावी मैदानमा उत्रिएका अधिकांश व्यवसायी सफल पनि भएका छन्। राजनीतिमा आएका व्यवसायीले आफूले सरकारी सेवासुविधा नलिने घोषणा गरेर चुनावी मैदानमा गए पनि लाभ भने लिँदै आएका छन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.