काठमाडौँ २१ चैत / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ ।
आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन नभए आगामी बैठक चल्न नसक्ने चेतावनी दिए ।
संसद शर्माले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्यूनतम शर्त रहेको बताए । उनले कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदै भनेर प्रचार भइरहेको भन्दै सत्ता समीकरणको खेलमा कांग्रेस नलाग्ने धारणा राखे ।
संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष भनेर चोख्याउन पनि नहुने उनको तर्क छ । तर उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेमाथि छानबिनको विषय प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाइरहेकोमा सत्तापक्षले संसदबाटै निर्दोष भनेर करार गरेकोमा असन्तुष्टि व्यक्त गरे ।
“को दोषी वा को निर्दोष भनेर रोस्टम वा फ्लोरबाट छुट्याउने विधि र पद्धति हाम्रो होइन । संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष साबित हुन पाउने हक उपभोग गर्न दिइनुपर्छ”, शर्माले भने ।
संसदीय छानबिन समिति किन चाहियो भन्ने प्रश्न उठिरहेकोमा यसमा मुख्य तीन कारणले समिति चाहिएको उनको भनाइ छ । “स्वार्थको टकराव देखिएका कारण, सहकारी ठगीसम्बन्धमा चलिरहेको छानबिन रोकिएका कारण र यो विषयमा सडकमा नभई संसदीय छानबिन समितिमा बहस चलाइनुपर्ने र जवाफ दिइनुपर्छ भन्ने तीनवटा कारणले समिति चाहिएको हो”, महामन्त्री शर्माले भने ।