संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मतले स्वीकृत

रिपोर्ट नेपाल | 2020 Jun 10 | 07:28 am 2083

काठमाडौं, जेठ २८ः नेपालको नयाँ नक्साअनुसारको निशान छापको विषयमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मतले स्वीकृत भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल तथा सांसदहरूले ध्वनि मतले संविधान संशोधन स्वीकृत गरेका हुन् ।

संविधान संशोधनका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भनी प्रस्ता पेस गरेकी थिइन् । प्रतिनिधिसभाका ८४ जना सांसदले संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।

सांसदहरूले संविधान संशोधन गरेर नेपालको सबै भूमि समेटिने गरी नक्सा जारी भएकोमा सरकारलाई धन्यवाद दिए । सांसदहरूले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा अंकित निशान छाप स्वीकृत गर्न समर्थन जनाए ।

सांसदहरूको समर्थनपछि कानुनमन्त्री डा. तुम्बाहाङ्फेले सबै राजनीतिक दल तथा संसदहरूले राष्ट्रिय अखण्डतामा सबैको एकता भएकोमा खुसी व्यक्त गरिन् । उनले नेपालको भूमि नक्सामा मात्रै नभई वास्तविक रूपमा नै नेपालले भोगचलन गर्ने सरकारको तर्फबाट प्रतिबद्धता जनाइन् ।

यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निशान छाप संशोधन गर्न परेको विधेयक निर्णयार्थ प्रस्तुत गरे । उनले पक्ष र विपक्षमा विभाजन गरेपछि विपक्षमा कुनै मत नपरेपछि संविधान संशोधन सर्वसम्मतले स्वीकृत भएको घोषणा गरे ।

संशोधन प्रस्ताव स्वीकृत हुनुअघि विधेयकमाथि सामान्य छलफलमा भाग लिँदै प्रतिनिधिसभा बैठकमा सबै राजनीतिक दलले संविधान संशोधनमा समर्थन जनाएका थिए ।

निशान छाप परिवर्तन गर्ने विषयमा सरकारले पेस गरेको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षीलगायत सबै दलले सरकारलाई भूमि फिर्ता ल्याउन पहल गर्न आग्रह गरे ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने सबै दलका सांसदले सुगौली सन्धि नेपालको बाध्यात्मक सन्धि भए पनि यो स्वीकार गर्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि तत्काल फिर्ताका लागि पहल थाल्न आग्रह गरे । उनीहरूले सरकारले पेस गरेको संविधान संशोधनमा सर्वसम्मत र यसमा आफूहरूको समर्थन रहेको बताएका थिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.