काठमाडौँ २६ भदौ / नेकपा माओवादी केन्द्रको अवरोधपछि आजको प्रतिनिधि सभाको बैठक ३० भदौसम्मको लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले संसद अवरोध गरेको हो ।
सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा ‘हिंसा’ भन्ने शब्द असंसदीय नरहेको र रेकर्डबाट हटाउन नपर्ने भनेर निर्णय सुनाएपछि माओवादी विच्किएको हो।
‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र संसद सचिवालयको रायका आधारमा विषय, प्रसंग र प्रस्तुतीलाई विचार गर्दा हिंसा शब्द असंसदीय नदेखिएका कारण रेकर्डबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराउँछु।’ सभामुख घिमिरेले सुनाए।
नेकपा माओवादी केन्द्रले संविधान विपरीत निर्णय गरिएको भन्दै आफूहरूलाई मान्य नहुने बतायो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाई होच्याइएको भन्दै सभामुखले निर्णय आफूहरूलाई मान्य नहुने बताए।
त्यसपछि एमाले र माओवादीका सांसदबीच जुहारी चल्यो। सभामुखले समय दिएपछि माओवादीका हितराज पाण्डे, देवेन्द्र पौडेल, एमालेका रघुजी पन्त, महेश बर्तौलाले बोले। संसद चलाउन सक्ने अवस्था नभएको भन्दै सभामुख घिमिरेले बैठक भदौ ३० गते आइतबार बस्नेगरी स्थगित गरेका हुन्।