इलाम,बैशाख १९ः इलाम भन्ने बित्तिकै सुन्दर र स्वच्छ जिल्ला भनेर चिनिन्छ । चियासँगै र अन्य बोटबिरुवाले हरियाली हुनु र उद्योग कल कारखाना नभएका कारण पनि इलामको वातावरण स्वच्छ छ भन्ने बुझाइ छ । तर, पछिल्लो समय इलामको वातावरण दिन प्रतिदिन प्रदूषण हुन थालेको पाइएको छ ।
सदरमुकामस्थित उद्योग वाणिज्य संघसँगै रहेको अमेरिकन कर्नरका मापन गर्ने डिभाइस राखिएको छ । वायुको प्रदूषण मापनका लागि इलाममा राखिएको डिभाइसले इलामको वायु प्रदूषण जोखिममा रहेको देखाएको कर्नरका हेमसागर पौडेलले जानकारी दिए ।
नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पीएम दुई दशमलव पाँच मापन गर्दा प्रतिघन मिटर वार्षिक ४० माइक्रोग्राम सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ । त्यस्तै, सय माइक्रोग्रासम्म मध्यम र एक सयदेखि एक सय ५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ रहने उल्लेख गरेको छ । १ सय ५० देखि २ सयसम्म अस्वस्थ, २ सयदेखि ३ सयसम्म धेरै अस्वस्थ र तीन सयदेखि पाँच सय माइक्रोग्रामसम्म खतरनाक अवस्था रहने मापदण्डमा उल्लेख छ ।
इलाममा जडान गरिएको लो कष्ट सेन्सरको तथ्यांकअनुसार इलामको वायु औसत प्रतिघनमिटर १ सय ४७ माइक्रोग्राम सूक्ष्म कणहरू पाइएको छ । जुन नेपाल सरकारको वायु गुणस्तरसम्बन्धी मापदण्ड २०६९ भन्दा चार गुणा बढी देखिएको पाइएको छ । जुन विश्व स्वास्थ्य संगठनभन्दा २९ गुणा बढी भएकोले इलामको वायु संवेदनशील समूहका लागि अत्यन्तै जोखिम रहेको देखाएको छ ।
इलामको वायु दिन प्रतिदिन जोखिमको अवस्थामा जान थालेसँगै वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन हुन थालेका छन् । स्वच्छ वायु अभियान इलाम २०८० ले इलाममा एक महिनाका लागि विभिन्न गतिविधि सुरु भएको वातावरण संरक्षण मञ्चका अध्यक्ष हैकम घिसिङले जानकारी दिए ।
जसअन्तर्गत जनप्रतिनिधि साथै सरोकारवालासँग अन्तक्र्रिया, विद्यालय तथा समुदायमा सचेतना, वायु प्रदूषणसम्बन्धी युवाबीच टिकटक प्रतियोगिता, सचेतनामूलक होर्डिङ बोर्ड साथै पर्चा वितरण विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशन साथै वक्तृत्वकला र चित्रकला प्रतियोगिता, वायु प्रदूषण न्यूनीकरणका कार्य योजना निर्माण गरिएको छ ।
यस्ता कार्यक्रमले जनचेतना फैलाउने र वातावरण संरक्षणमा सहयोग पुग्ने भन्दै गत १ वैशाखबाट कार्यक्रम सुरु भएको घिसिङको भनाइ छ । राजधानी दैनिकबाट