काठमाडौँ, ०९ पुष / गृहमन्त्री रमेश लेखकले मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताएका छन् ।
उनले संविधान संशोधनको विषय छलफलमा अघि बढाउन प्रारम्भ गरेको जानकारी दिए । संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताए ।
संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्ने र संविधानमा समासामयिक रुपले परिमार्जन गर्नेछौँ । तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले हुँदैन । हामी तत्कालै केही दिनपछि नेपाली कांग्रेस र नेकपा एमालेको जो दुई ठूला पार्टी सरकारमा छौँ । दुवैको एउटा संयुक्त, कार्यदल बनाएर पनि संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौँ उनले भने ।’’
उनले केही दिनपछि नै नेपाली कांग्रेस र नेकपा एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल सुरु गर्ने धारणा व्यक्त गरेका छन् । सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गरी विषयवस्तुहरुमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुने उहाँको भनाइ रहेको थियो।
‘‘कांग्रेस र एमालेले दुई वटै पार्टी मिलेर गरेर पनि हुँदैन । हामी छलफल प्रारम्भ गर्दछौँ, संविधानको समीक्षा गर्छौं । सबैभन्दा पहिला संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । अर्को चरणमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुहरुमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुन्छ । भोलिको पर्सि संविधान संशोधन हुने होइन । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो उनले भने ।